राजनीति

रेखालाई ढाका टोपी लगाइदिँदै मतदाता भन्छन्, ‘देशको शिर उँचो राख्नू’

By खबरहब

November 06, 2022

मोरङ- मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शिर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् ।

पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवापुस्ताले शिर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शिरमा ढाका टोपी लगाइदिएका हुन् ।

आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

कलाकारसमेत रहेकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रूपमा चिनिएकी उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा छिन् ।

मोरङ–३ मा थापा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।