राजनीति

 सत्ता गठबन्धनको प्रतिबद्धता पत्र : बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

By खबरहब

November 06, 2022

बुटवल- सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित रुपन्देही-२ मा सत्ता गठबन्धनमा आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरी शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरण विकासका खाकासहित दलहरुले रुपन्देही २ (२) लाई लक्षीत गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्ने उल्लेख छ । जनस्वास्थ्यतर्फ ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने, तामनगरमा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । युवा तथा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।

लैङ्गिक समानता र समावेशीतर्फ जातीय लैङ्गिक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, लैङ्गिक हिंसा पीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, एक वडा एक ज्येष्ठ नागरिक केन्द्र निर्माण र गृहिणी रोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अपांगलाई दक्ष सीप विकास कार्यक्रम, विपन्नको लागि आवास र महिला उद्यमशीलता र रोजगार कार्यक्रम सञ्चालन गर्ने त्यसमा उल्लेख छ ।

भौतिक पूर्वाधारतर्फ सुखी जीवनको लागि पूर्वाधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ । सबै सडक हिलो–धुलोमुक्त र आधुनिक सडक विस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने र सुकुम्बासीलाई भूमि अधिकार दिइने बताइएको छ ।

कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यावसायिक कृषि क्षेत्रको रूपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने भनिएको छ । रुपन्देहीको क्षेत्र नं. २ मा गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको छ । प्रतिनिधिसभातर्फ जनमुक्तिका केशवबहादुर थापा, प्रदेशसभामा १ तर्फ कांग्रेसका दीर्घबहादुर केसी र २ मा माओवादी केन्द्रका वामदेव क्षेत्री उम्मेदवार छन् ।