राजनीति

चुनावपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार : सञ्चारमन्त्री कार्की

By खबरहब

November 06, 2022

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए ।

सामाजिक एकता र सदभाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभइ देशमा राजनीतिक स्थायीत्व कायम नहुने बताए । राजनीतिक स्थायीत्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ ।

मुलुकको मुहार फेर्न, गरिबी र बेरोजगारी अन्त्य गर्न सत्ता गठबन्धनको सरकार लागि परेको उनको भनाइ छ । यसका साथै उनले सुनसरीका युवालाई रोजगार बनाउनुका साथै त्यहाँ डुबानको समस्यालाई समाधान गर्न आफू गम्भीर रहेको बताए ।