राजनीति

एमाले उम्मेदवार पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु

By खबरहब

November 06, 2022

बुटवल – रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा (१) बाट केन्द्रीय सदस्य लीला गिरी र (२) बाट प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेवार बनाएको छ ।

एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । आज बुटवलमा आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्वगृहमन्त्री नीरञ्जन थापा, प्रदेश अध्यक्ष प्रदीप उदयसहित कार्यकर्ताहरू सहभागी थिए।

विसं २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी हुनुभएका एमाले उम्मेदवार पौडेलले उक्त निर्वाचनमा पनि कालिगण्डकी डाइभर्सनलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा राखेका थिए । यो परियोजनालाई पुनः अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले त्यहाँ देखिएको अवरोध तथा व्यवधान हटाएर कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । पौडेलको घोषणापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्यअघि बढाइनेछ ।’

बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उनले बताए । उनको घोषणापत्रमा आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी आसपासका निर्वाचन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसअघि पनि यसै क्षेत्रबाट प्रतिनिधित्व गरेको पौडेलले प्रतिबद्धता पत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्यधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले बुटवललाई विकासको पाठशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुटवलको ‘चार्मिङ’लाई अक्षुण्ण राख्ने उनको प्रतिबद्धता छ । सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ ।

निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीयस्थलमा विकास गरिने उल्लेख गरिएको छ । पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक शहरमा पुनःरुत्थान तथा विकसित गर्ने उल्लेख गरिएको छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गरे