समाचार

फागुन १० गतेभित्र रेल चल्छः महाप्रबन्धक झा

By खबरहब

February 07, 2022

जनकपुरधाम– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ ।

रेलको उद्घाटन नभएसम्म बिना यात्रु नियमित रेल चलाइने पनि उनले बताए ।

उनले भने, ‘फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’

महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, केही दिन तलमाथि हुन सक्नेछ । तर, यसपटक रेल चल्छ ।’