समाचार

हामी गठबन्धनसँग एक्लै लड्न सक्षम छौँः विश्वकर्मा

By खबरहब

February 07, 2022

रुपन्देही– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको दाबी गरेका छन् ।

एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए ।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा भएको कार्यक्रममा सचिव विश्वकर्माले यस्तो बताएका हुन् ।

विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा तथा भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको बताए । उनले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मीनप्रसाद पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेलगायतले धारणा राखेका थिए ।