मनोरञ्जन

भारतीय फिल्म उद्योगमा फरक पुस्ता

By मनोज घिमिरे

February 07, 2022

काठमाडौँ– भारतमा सिनेमाको सुरुवात सन् १९१३ बाट भएको हो । ऐतिहासिक दस्ताबेज अनुसार दादा साहेब पाल्खेले बनाएको राजा हरिसचन्द्र नै भारतको पहिलो चलचित्र मानिन्छ ।

सत्यवादी राजा हरिसचन्द्रको कथामा सो चलचित्र आधारित थियो । त्यस समयमा फिल्म भन्दा बढी नाटक झैँ लाग्ने भारतीय चलचित्रमा पौराणिक कथाहरूको प्रयोग भएको हुन्थ्यो ।

त्यसको केही दशक पछि नै भारतमा सिने क्षेत्रले नयाँ बाटो लिएको थियो । बिस्तारै समाजको प्रभावमा मात्र सिनेमा बन्न थालेनन्, फिल्मले समाजलाई प्रभाव पार्न थाले । चर्चित कवि, नाटककार तथा नाट्य निर्देशक बार्टलोट ब्रेचले भन्ने गरेका थिए, ‘कला समाजको ऐना मात्र होइन । यो एउटा ह्यामर पनि हो, जसले यसलाई रूप दिन सकोस् ।’

उनकै विचारमा फिल्मले समाज सुधारका लागि चेतना पनि जगाउने काम गर्नै पर्छ । उनले भने जस्तै भारतीय सिनेमाको बाटो पनि समाजलाई पथ प्रदर्शन गर्ने बाटोमा लागेको थियो ।

सन् १०४० को दशक संसार नै राजनीतिक प्रभावमा थियो । समाचारका विषय र चासोको विषय राजनीति थियो । दोस्रो विश्व युद्धको प्रभाव संसार भरी थियो । सन् १९४० मा स्वतन्त्रताको मुद्दालाई नै प्रचार गर्ने उद्देश्यका साथ बम्बई(हालको मुम्बई) मा फिल्म सल्लाहकार बोर्डको गठन भएको थियो ।

यसपछि बोर्डमा रहेको एकाधिकारका कारण फिल्म निर्माणको क्रममा गिरावट आएको थियो । सन् १९३५ मा भारतमा १५४ फिल्म बनेका थिए । यो क्रम घटेर सन् १९४१ मा जम्मा ७८ फिल्म मात्र बने ।

यो दशकको सुरुवातमै निर्माताहरूले स्वतन्त्रता सङ्ग्रामलाई प्राथमिकता दिएका थिए । सन् १९४० मा राम दर्सायानीको हिन्दुस्तान हमाराबाट सुरु भएको क्रमलाई सैलेन घोषले अमर आसा बनाएर निरन्तरता दिएका थिए । यसै गरी, सन् १९४३ मा नजबुल हसनको नयाँ तराना रिलिज भएको थियो ।

भारत छोड अभियानलाई ब्रिटिस शासकले रोके पनि फिल्म मार्फत भारतीय नेताको भनाइ, भारतको राष्ट्रिय झन्डा र राष्ट्रियता झल्कने विषयहरू बाहिर ल्याउने काम गरिएको थियो ।

यसै समयमा प्रेम कथामा आधारित चलचित्र पनि बने । सो समयमा बनाइएका चलचित्रमा अन्य मसलाको प्रयोग नगरी प्रेमीको समर्पणलाई देखाइने गरिन्थ्यो । सन् १९४२ मा अमिया चक्रवर्तीको वसन्त र सन् १९४४ मा रिलिज भएको एम सादीकको रतन यसैका उदाहरण हुन् ।

कमर्सियल रूपमा सन् ४० को दशकको सबैभन्दा लोकप्रिय भारतीय चलचित्र किस्मत थियो । यो सन् १९४३ मा रिलिज भएको हो । सो समयमा त्यस चलचित्रले एक करोड भारतीय रुपैयाँ कमाएको अनुमान गरिएको थियो । एक युवती गर्भवती भए पछिको अवस्थालाई फिल्मले वर्णन गरेको छ । यसको गीत ‘दूर हातो आये दुनियाँ वाले ’अत्यन्त लोकप्रिय थियो । त्यो गीत जनस्तरमा पनि त्यत्तिकै लोकप्रिय बनेको थियो ।

सो दशकमा धेरैको ध्यान तान्न सफल अर्को फिल्म रमेश साइगलको सहिद हो । स्वतन्त्रता पछिको वर्ष सन् १९४८ मा यो फिल्म रिलिज भएको हो । स्वतन्त्रताका लागि भारतीयले गरेको सङ्घर्षको कथालाई मुख्य विषय बनाइएको यसै चलचित्रले आर फिल्मलाई भारतीय सिने उद्योगमा स्थापित गरेको थियो । आरकेको यो पहिलो फिल्मको निर्देशन राज कपुरले गरेका थिए ।

सन् १९५० मा भारतीय सिने उद्योगका लागि चुनौतीपूर्ण थियो । स्वतन्त्रताको युगमा भारत प्रवेश गरेकाले एक दशक अघिको जस्तो मिसन फिल्म काम नलाग्न पनि सक्थ्यो । अर्को तर्फ दर्शकको अपेक्षा पनि बढ्न थालेका थिए । यसै समयमा दुई निर्देशक राज कपुर र गुरु दत्त भारतीय सिने जगतमा दीर्घकालीन प्रभाव जमाउन सफल रहे ।

सन् १९५१ मा रिलिज भएको राज कपुरको आवारा र सन् १९५५ मा रिलिज भएको श्री ४२० दुवै ब्लकबस्टर भए । यी दुवै चलचित्रले भारतीय समाजका नकारात्मक पाटोलाई उजागर गर्दै सुधारको बाटोमा लाग्न प्रेरित गरेका थिए । गुरु दत्तको प्यासाले स्वतन्त्रताको पूर्ण उपयोग गरेको थियो । सोही चलचित्रको गीतमा भारतीय नेताहरूको व्यापक आलोचना भएको थियो ।

मेहबुबको मदर इन्डिया सन् १९५७ मा रिलिज भएको थियो । त्यसले पनि राष्ट्रवादी सोचलाई प्राथमिकता दिएको थियो । विमल रायको निर्देशनमा बनेको दो बिघा जमिन सन् १९५३ मा रिलिज भएको थियो । यस फिल्ममा भारतका सामान्य नागरिकले शासकबाट भोग्नु परेको पिडालाई सम्बोधन गरिएको थियो । केन्स फिल्म भेस्टीबलमा समेत यसलाई विशेष सम्बोधन भएको थियो ।

सामान्य मानिसको गरिबी र जीवनका दुखलाई कथाको मुख्य विषय बनाएर फिल्म बनाउने परम्परामा यो एउटा कोशेढुंगा समेत मानिएको थियो । सन् १९५९ मा तीनै निर्देशकको सुजाता रिलिज भएको थियो । त्यस चलचित्रले जातीय विभेदलाई मुख्य विषय बनाएको थियो ।

भि सन्तरामको ‘ दो आँखे बराथ हाथ ’१९५७ मा रिलिज भएको थियो । अपराधीको पुन शुद्धीकरणको विषयमा त्यस चलचित्र बनेको हो । त्यस चलचित्र बर्लीन फिल्म फेस्टीबलमा बेस्ट पिक्चर अवार्ड तथा सामुयल गोल्डविन अन्तर्राष्ट्रिय फिल्म फेस्टीबलमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मका लागि मनोनयनमा पर्न सफल भयो । त्यो दशक नै भारतीय सिने उद्योग राजनीति केन्द्रित नभई समाज केन्द्रित भएको थियो ।

सन् १९६० को दशक भारतीय सिने उद्योग रोमान्स केन्द्रित थियो । के असीमको नाटक मुगल इ आजाम सन् १९६० मा फिल्मको रूपमा प्रस्तुत हुँदा ५ करोड रुपैयाँ कमाउन सफल भएको थियो । यस पछि लगातार लामो समय प्रेम कथामा आधारित चलचित्रले नै बजारमा प्रभाव जमाए ।

सन् १९६३ मा एच एस रावेलको मेरे मेहबुबा, सन् १९६४ मा राज कपुरको सङ्गम र सन् १९६९ मा शक्ति सामन्थाको आराधना रिलिज भएको थिए । यी सबै फिल्म त्यत्तिकै सफल पनि भए ।

यसै दशकमा सीमा पार पनि फिल्म सुटिङको मोह भारतीयमा बढेको थियो । सन् १९६४ को राज कपुरको सङ्गम र सन् १९६५ मा यस चोपराको वक्तले यस क्रमलाई निरन्तरता दिएका थिए । ६० कै दशकमा म्रनिल सेनले भुवन सोम अत्यन्त कम बजेटमा निर्माण गरे । यसले धेरैलाई कम बजेटमै फिल्म बनाउन उत्साहित गरायो ।

त्यसै दशकमा आराधना सुपर हिट भए पछि राजेश खन्नालाई स्टारको रूपमा स्थापित भएका थिए ।

भुवन सोमको सफलता पछि धेरै फिल्म उत्पादक कम्पनी कम बजेटमा फिल्म बनाउन तयार भए । सन् १९७० को दशक यस्तै कम बजेटको फिल्मको प्रभाव धेरै परेको थियो । प्रविधिमा भन्दा विषय बस्तुमा बढी ध्यान दिइने त्यस समयमा वासु चटर्जीको सारा आकाश, रजिन्दर सिंह बेदीको दस्ताक र मनी काउलको उस्की रोटी कम बजेटका बाबजुद सफल भएका थिए ।

अघिल्लो दशकको अन्त्यमा स्टारको रूपमा उदाएका राजेश खन्नाले सन् ७० को दशकमा वर्षको पाँच वटाको दरले फिल्ममा काम गरेका थिए । यसै दशकमा अमिताभ बच्चन सुपर स्टारको रूपमा स्थापित भए । सुपर हिट फिल्म आनन्द सन् १९७१ मा रिलिज भएको थियो । यसै गरी, सन् १९७३ मा जन्जिर,१९७५ मा दिवार र सोले उत्तिकै सफल भए ।

सन् १९८० को दशकमा रङ्गिन टेलिभिजनको सुरुवात भए पछिको समय भारतीय फिल्म उद्योगका लागि सुखद बनेन । दर्शकको रुचि टेलिभिजनमा बढे पछि नयाँ ढङ्गले सोच्न निर्माता र निर्देशक बाध्य भएका थिए ।

सन् १९९० को दशकमा ठुलो लगानीको फिल्म बन्न सुरु गरे । धर्म प्रोडक्सनको कुछकुछ होता हे बाट सुरु भएको यो क्रम हम आपके हे कौनमा आइपुग्दा हलचल नै ल्याएको थियो । सन् १९९४ मा त्यस फिल्मको निर्माण मूल्य ६९.७५ करोड थियो ।

सन् २००० को दशकको ड्रामा खालको फिल्मले फेरी प्राथमिकता पाए भने पछिल्लो दशकमा ड्रामा र रोमान्सका साथै अत्याधुनिक प्रविधिको व्यापक प्रयोग भए ।

अहिलेको यो मोडमा उभिएर भारतीय सिनेमाका ती दिनलाई सम्झनेहरू ‘बोल्ड इज गोल्ड’ नै भन्ने गर्छन् । कुनै दिन फिल्मले स्वतन्त्रताको मुद्दालाई प्राथमिकता दिएको थियो । यसै गरी, प्राचीन भारतीय फिल्मले सामाजिक र राजनीतिक नेतृत्वको कमजोरीलाई सशक्त ढङ्गले उठाउँदै समाज परिवर्तनमा महत्त्वपूर्ण आयाम पनि थपेको थियो ।

एजेन्सीहरूको सहयोगमा