सांकेतिक तस्बिर

समाचार

लुक्ला नजिकैको वनमा आगलागी, काठमाडौँबाट हेलिकप्टर पठाइयो

By खबरहब

March 07, 2022

सोलुखुम्बु – तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिए । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।

आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए ।