समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना

By खबरहब

March 07, 2022

महोत्तरी- मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन् ।

 तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गरेका हुन् ।

लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ । पहिले श्री लक्ष्मीनारायण मन्दिर पुगेका  पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गरेका थिए  । त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरेका छन् । मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुगेर पवित्र तलाउको पूजा र आरतीमा सरिक भएका थिए  ।

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आएका पोखरेल आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गरेका थिए । भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ ।