राजनीति

संघलाई दबाब दिन मुख्यमन्त्रीहरूको सामूहिक आवाज आवश्यकः मुख्यमन्त्री पोखरेल

By खबरहब

March 07, 2022

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अधिकारका सवालमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सामूहिक आवाज आउनुपर्ने बताएका छन् ।

यसका लागि पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने मुख्यमन्त्री पोखरेले बताएका छन् ।

मधेश प्रदेश भ्रमणबाट पोखरा फर्किएलगत्तै पत्रकारहरूसँगको कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए ।

‘संघ सरकार प्रदेशप्रति अनुदार छ । यो कुरा सार्वजनिक रूपमा भनेका पनि छौँ । मैले मुख्यमन्त्रीहरूलाई कन्भिन्सको प्रयत्न गरिरहेको छु,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको सामूहिक आवाज गयो भने केन्द्रीय सरकारलाई दबाब पुग्छ । यसलाई स्वभाविक लिनुपर्छ ।’

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गर्न सुझाव दिएको उनले बताए ।

‘उता पनि मैले कुरा गरेर आएको छु । उहाँले गण्डकीले आयोजना गरिदियोस् भन्नुभएको छ । अरु मुख्यमन्त्रीसँग पनि सम्पर्क गरेर भेला गरौँ भनेको हुँ,’ उनी भन्छन्, ‘विगतमा पनि भेला भएको थियो तर निश्चित नतिजा नआउँदै टुंगियो । त्यसलाई पूरा गर्न गण्डकी सरकारले नै पहल गर्नुपर्छ भन्ने मेरो सोच हो ।’

मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित पर्यटन व्यवसायी र कर्मचारीहरूको टोली तीनदिने भ्रमणमा गएको थियो ।