समाचार

फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

By खबरहब

March 07, 2022

काठमाडौँ- हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

सोमबार काठमाडौँमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।

महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिए। उनले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधी सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनु परेको महाशाखाले जनाएको छ ।