मेडिसिटी अस्पताल पुगेर महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्दै गृहमन्त्री बालकृष्ण खाँण । तस्बिरः सुरेन्द्रकुमार झाको फेसबुकबाट ।

राजनीति

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य

By खबरहब

April 07, 2022

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् ।

लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न नेपाल सरकारको गृहमन्त्री माननीय बालकृष्ण खाँणजी मेडिसिटी अस्पताल आउनु भयो साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो’, झाले भने ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो । ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ।

मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ ।