तस्वीर- पाकिस्तानी सर्वोच्च अदालत

अन्तर्राष्ट्रिय

अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ त्रुटिपूर्ण – पाकिस्तानी प्रधानन्यायाधीश

By खबरहब

April 07, 2022

काठमाडौं– पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ त्रुटिपूर्ण रहेको प्रधानन्यायाधीश उमर अता बन्दियालले बताएका छन् ।

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुखको कदम र लगत्तै संसद् भंग गर्ने प्रधानमन्त्रीको कदमबारे सुनुवाइका क्रममा प्रधानन्यायाधीशले उपसभामुखको रुलिङ त्रुटिपूर्ण रहेको जनाएका हुन् ।

‘प्रमुख सवाल अब के हुन्छ भन्ने हो’ उनले भने । उनका अनुसार अबको प्रक्रिया के हुने भन्ने पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खान र विपक्षी दल पाकिस्तान मुस्लिम लिग नवाजका कानून व्यवसायीले निर्धारण गर्ने पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश जमाल खान मन्दोखाइलले भने प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने रुलिङमा उपसभामुख कसिम खान सुरीको हस्ताक्षर नै नभएको जिकिर गरेका छन् । उक्त रुलिङमा सभामुख असद कुसैरको हस्ताक्षर मात्र रहेको न्यायाधीशको भनाइ छ ।

विपक्षीहरुले सभामुखमाथि नै अविश्वासको प्रस्ताव ल्याएपछि उपसभामुख कसिम खान सुरीले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।