तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान अदालतको आदेश

By खबरहब

April 07, 2022

काठमाडौं– राजधानी कोलम्बोस्थित एक अदालतले श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान आदेश दिएको छ ।

कोलम्बोको चिफ मजिष्ट्रेट अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्द काब्राललाई देश छाडेर कतै नजान आदेश दिएको श्रीलंकाको अंग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको हो ।

दक्षिणी प्रान्तका पूर्वगभर्नर रजिथ कीर्ति थेन्नाकुनको उजुरीका आधारमा कोलम्बोका अभियोजनकर्ता हर्षना केकुनवालाले अदालतमा पूर्व गभर्नरविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनलाई अप्रिल १८ मा अदालतमा हाजिर हुन समेत निर्देशन दिइएको छ । देशमा बढ्दो आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावबीच सरकारविरोधी प्रदर्शन चर्किएसँगै उनले केही दिनअघिमात्रै राजीनामा दिएका थिए ।

मुलुकको गिर्दो आर्थिक अवस्था तथा विदेशी मुद्राको चरम अभावको व्यवस्थापन गर्न नसकेको भन्दै पूर्व गभर्नर काब्रालको चर्को आलोचना हुने गरेको छ ।