तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

लकडाउनका कारण साङ्घाईमा खाद्यान्न अभाव

By खबरहब

April 07, 2022

काठमाडौं– लकडाउनका कारण चीनको व्यापारिक केन्द्र साङ्घाईमा खाद्यान्न अभाव देखिएको छ ।

बढ्दो कोभिड १९ संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण स्थानीयहरुको खाद्यान्न सकिदै गएको बीबीसीले जनाएको छ । बिहीबारमात्रै साङ्घाईमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका थिए ।

२ करोड ५० लाख जनसंख्या रहेको साङ्घाईमा अनिश्चितकालसम्मका लागि लकडाउनको घोषणा गरेसँगै शहरको खाद्यान्न आपूर्ति व्यवस्थामा असर पुगेको जनाइएको छ ।

‘कृपया अपर्याप्त आपूर्ति क्षमताबाट उत्पन्न समस्या समाधान गर्नुहोला ।’ चिनियाँ सामाजिक सञ्जाल वेइबोमा सरकारले जारी गरेको भिडियोमा एकजनाले प्रतिक्रिया दिएका छन् । ‘जीवनै मै पहिलोपल्ट म भोकै भएँ ।’ सामाजिक सञ्जालमा अर्का एक जनाको टिप्पणी छ ।

खाद्यान्न डेलिभरी गर्नेहरु पनि लकडाउन भएको क्षेत्रमा फसेका कारण यस्तो अवस्था उत्पन्न भएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीहरूले शहरमा लकडाउनका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै कठिनाइको समाधान गर्न आफूहरू लागि परेको जनाएका छन् ।