तस्वीर- नेशनल इन्ट्रेस्ट

अन्तर्राष्ट्रिय

अफगानिस्तानका सडकमा भिखारीको संख्या बढ्दै 

By खबरहब

May 07, 2022

काठमाडौं– अफगानिस्तानमा गरिबी बढ्दै गएपछि राजधानी काबुलमा सडकमै बस्ने मानिसहरूको संख्या बढ्न थालेको छ । मुलुकमा बढ्दो गरिबी र बेरोजगारीका कारण जीवन काट्न भिख माग्ने र निकृष्ट श्रम गर्न बाध्य मानिसहरूको संख्या बढ्न थालेको हो ।

सडकमा मानिसहरूको संख्या बढ्न थालेपछि अफगानिस्तानको शासन चलाइरहेको वर्तमान तालिबान सरकारका प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले यसबारे जाँचबुझका लागि निर्देशन समेत दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबारे तालिबानको श्रम तथा सामाजिक मामिला मन्त्रालय तथा अन्तर्राष्ट्रिय रेड क्रस समिति आईसीआरसीलाई जाँचबुझको जिम्मा दिइएको जनाइएको छ ।

सडकमा भिख मागिरहेका एकजना बालकले टोलो समाचार च्यानललाई भने, ‘हाम्रो घरमा केही छैन, जब म मागेर पैसा बटुल्छु, मैले परिवारलाई रोटीको टुक्रा किनिदिन्छु । मेरा दिदीबहिनी भोकै छन् ।’

पछिल्लो समय अफगानिस्तानमा भोकमरी, गरिबी, बेरोजगारी जस्ता मानवीय संकट बढ्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।