केही घण्टाभित्रै सम्पूर्ण युक्रेन कब्जा गरी आफ्नो कठपुतली सरकार बनाउने उद्देश्यसहित शुरु भएको रुसी आक्रमणको १ सय दिन कटिसकेको छ । गत फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैनिक कारवाहीको घोषणा गरेका थिए। युक्रेनको विना सैन्य उत्तेजनामाथि रुसी सेनाले भीषण सैन्य आक्रमण थालेको थियो । युक्रेनमा तत्कालै सैन्य विजय हासिल गर्ने उद्देश्यसहित सैन्य आक्रमणमा उत्रेको रुस आफूले मात्र युद्धको महङ्गो मूल्य सामना गरिरहेको छैन, सिंगो विश्वलाई नै असर पारेको छ ।
पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण आफ्नो कठपुतली सरकार नहुनु, लोकतान्त्रीक प्रक्रिया संस्थागत हुँदै जानु, अमेरिका र युरोपेली संघसँग नजिकिँदै जानु र भावी दिनमा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्य हुनसक्ने लगायत कारण हुन् । युक्रेन लोकतान्त्रिक बाटोतर्फ गएपछि रुष्ट रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन छुट्टै देश नभएको र युक्रेनको ‘रूपान्तरण’ गर्ने उद्घोषसहित गरेको आक्रमणको मुख्य उदेश्य लगभग असफल भइसकेको छ ।
पुटिनले ‘डी–नाजिफाइ गर्ने’ र राष्ट्रपति जेलेन्स्कीको सरकार प्रतिस्थापन गरी नयाँ सरकार स्थापना गर्ने समेत उद्घोष गरेका थिए जुन युक्रेनी नागरिकले अस्वीकार गरिदिए । रुसी सञ्चार संस्थाहरू अहिले पनि आफ्ना नागरिकलाई षड्यन्त्र सिद्धान्तहरूमा विश्वास गराउने प्रयत्न गरिरहेका छन् । रुसी सञ्चार माध्यम र रुसी अधिकारीहरू युक्रेन आक्रमण रूसलाई सुरक्षा खतरा पार्ने र टुक्राटुक्रा पार्ने ‘शताब्दी पुरानो’ पश्चिमी योजनाहरूलाई आक्रमणले रोकेको मिथ्या विवरणहरु रुसी नागरिकहरुमा प्रवाह गरिरहेका छन् ।
युक्रेनको राजधानी किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गरी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिका साथ राजधानी नजिकै पुगेका रुसी सेना युक्रेनीको एक महिना लामो प्रतिकारपछि त्यहाँबाट पछि हट्दै पूर्वी युक्रेनमा केन्द्रित बनेका थिए। युक्रेनमा आक्रमणको १ सय दिन पूरा हुँदै गर्दा युद्ध सकिने आधारहरु अझै प्रष्ट देखिएका छैनन् । रुसी सेनाविरुद्ध लड्न अमेरिका र अन्य पश्चिमा मुलुकहरुले युक्रेनलाई अत्याधुनिक हतियार तथा अन्य सहायतालाई बढाएका छन् भने रुसले यस विषयमा क्रुद्ध प्रतिक्रियाहरू दिइरहेको छ । यसबाहेक युद्धका कारण युक्रेनको मानवीय अवस्था पनि अझ बिग्रिँदै गइरहेको छ ।
रूसले मार्चको अन्त्यमा युक्रेनको राजधानी किभ क्षेत्रबाट सेना फिर्ता गरेपछि पूर्वी युक्रेनको डोनबास क्षेत्रमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो समय युक्रेनको कूल भू–भागको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा रहेको छ । पछिल्लो समय रुसी सेनाले पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क शहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। रुसी आक्रमणपछि युक्रेनका एक करोड २० लाख नागिरक विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । करीब ६८ लाख मानिसले युक्रेन छाडेका छन् ।
यूएनएचआरसीको प्रतिवेदन अनुसार करीब ३६ लाख युक्रेनी अहिले पोल्याण्डमा शरणार्थी जीवन बिताउन बाध्य छन् । युक्रेनका छिमेकी मुलुकहरू पोल्याण्ड, रोमानिया, हंगेरी जस्ता मुलुकमा लाखौं युक्रेनीहरु शरणार्थीका रुपमा रहेका छन् ।पछिल्ला केही सातायता युक्रेनको राजधानी किभ शहर तुलनात्मक रुपमा शान्त छ तर पनि रुसी क्षेप्यास्त्र एवम् हवाई आक्रमण पूर्ण रुपमा रोकिएको छैन ।
किभमा बन्द भएका ५० वटा मुलुकले पुःन आफ्ना राजदूतावास सञ्चालनमा ल्याएका छन् । जेलेन्स्कीले व्यावहारिक रूपमा मात्र नभई प्रतिकात्मक रूपमा पनि यो समाचार महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन् । राजधानीमा फर्कने हरेक दूतावासले आफ्नो देश युद्धमा विजयोन्मुख रहेको प्रमाण दिएको उनको बुझाइ छ । युक्रेनको खार्किभ, मारिउपोल, मेलिटोपोल, सेभेरोडोनेत्स्कजस्ता पूर्वी युक्रेनका ठूला शहरहरु रुसी हमलाका कारण भग्नावशेषमा परिणत भएका छन् । युक्रेनको राज्य सडक एजेन्सीले रुसी आक्रमणका कारण आफ्नो देशको ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको जनाएको छ।
युद्धले युक्रेनको ४५ प्रतिशत कुल ग्राहस्त उत्पादन नष्ट नगरिदिएको अर्थविदहरुको आँकलन छ । अहिलेसम्म युक्रेनका ५० प्रतिशतभन्दा बढी व्यवसायहरु बन्द छन् भने ४८ लाख बढीले रोजगारी गुमाएका छन् । देशको प्रमुख निर्यात लगभग ठप्प छ । रुसले युक्रेनी बन्दरगाहबाट सामानहरु निर्यात हुन बन्देज गरेको छ। युक्रेनको भौतिक पूर्वाधारहरूमा मात्रै एक खर्ब डलरमाथि क्षति पुगेको अनुमान गरिएको छ।
रुसी आक्रमणका कारण आर्थिक रुपमा युक्रेनले ६ खर्ब डलरभन्दा माथि घाटामा रहेको छ। रुसी आक्रमणका कारण हजारौँको ज्यान गएको छ भने खर्बौँका भौतिक संरचना नष्ट भएको छ । यता छिट्टै सत्ता परिवर्तन गर्ने उद्देश्यसहित युक्रेनमा आक्रमण थालेको रुसी सेनातर्फ पनि निकै ठूलो क्षति भइरहेका विवरणहरू सार्वजनिक भएका छन् ।
युक्रेनी सेनाले रुसका ३० हजारभन्दा बढी सेनाहरु मारिदिएको, दुई सयभन्दा बढी युद्धक विमान, एक सय ७५ भन्दा बढी हेलिकोप्टर, १३ सयभन्दा बढी ट्यांक, १३ वटा पानीजहाज तथा डुंगालगायतलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका लगायत देशहरुले युक्रेनी सेनालाई छरिता तथा प्रभावकारी हतियारहरू उपलब्ध गराइरहेका छन् । अमेरिकी सहायताले युक्रेनको युद्ध क्षमता घट्न दिएको छैन ।
रुसमाथि पश्चिमा देशले कठोर आर्थिक नाकाबन्दी लगाइदिएकाले रुसको अर्थतन्त्र पनि कमजोर बन्न पुगेको छ । युद्धका कारण संसाभर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पेट्रोलको भाउ निकै बढेको छ । युद्ध छिटो रोकिएन भने अन्य देशमा खाद्य संकट आउन सक्ने संकेतहरू देखा परेका छन् । अफ्रिकामा पहिले नै खडेरी र आन्तरिक हिंसाको कारण खाद्य संकट थियो । युद्धका कारण अफ्रिकामा खाद्यान्न संकट बढ्दै गएको छ । यस्तो अवस्थामा अफ्रिकाले रूसबाट धेरै आशा राखेको छ। अफ्रिकाका धेरै देशहरू गहुँ, मकै, खाद्य तेल जस्ता मुख्य खाद्यान्नका लागि यूक्रेन र रसियामा निर्भर थिए । अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात युद्धअघि युक्रेन र रुसबाट हुने गरेको थियो ।
युद्ध शुरु भएयता ब्ल्याक सीमा रहेका सबै युक्रेनी बन्दरगाह ठप्प हुँदा रुसी युद्धका कारण निर्दोष अफ्रिकीहरू मारमा परेका छन् । युद्ध छिट्टै अन्त्य नभए अन्य देशले महङ्गी लगायत सामनासँगै अन्नको अभावका कारण १ अर्ब ४० करोड मानिसहरूलाई प्रभावित हुनेछन् । मध्य अफ्रिकी मुलुक चाडले खाद्य सङ्कटकाल घोषणा गरिसकेको छ भने अन्य अफ्रिकी मुलुकहरुले समेत खाद्य अभाव शुरु भएको जनाइएको छ । खाद्य सङ्कटका कारण मध्यपूर्व र अफ्रिकाबाट युरोपमा शरणार्थीहरू बढ्ने चिन्ता पनि शुरु हुन थालेको छ।
रुस– युक्रेन युद्ध अन्त्य कुनै ठोस आधार नदेखिएका बेला युक्रेनी राष्ट्रपतिले भने युद्ध लड्न नछाड्ने दृढता व्यक्त गर्दै आएका छन् र उनले आफ्नो देशको विजय हुने दाबी गर्दै आएका छन् । यता रुसी राष्ट्रपति पुटिन भने युक्रेनबाट हार मानेर पछि हट्ने मनस्थितिमा देखिँदैनन् । दुई मुलुकबीच अर्को शान्ति वार्ता कहिले हुने भन्ने पनि स्पष्ट छैन । यस्तो अवस्थामा युक्रेनमा जारी रुसी आक्रमण तत्काल अन्त्य नहुने देखिएको छ।
युद्धको प्रभाव युरोप र वरपरका देशहरुमा मात्र होइन, विश्वव्यापी र बहुआयामिक बन्दै जाँदा युद्धको असरले सिंगो विश्वलाई प्रभावित पारेको छ । यो युद्धका कारण कोभिड– १९ महामारीभन्दा ठूलो मानवीय संकट आउन सक्ने त्रास समेत बढेको छ ।