काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘प्रकाश’ को टिजर सार्वजनिक भएसँगै यसको चर्चा बढ्दो छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप खड्का र दिया मास्के सशक्त भूमिकामा देखिएका छन् । दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ ।
सार्वजनिक टिजरको पृष्ठभूमिमा बज्ने कर्णालीको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
यो फिल्म मार्फत निर्देशक दिनेशसँगै प्रदीप पनि फेरिएका छन् । लभ स्टोरी फिल्म मार्फत आफूलाई स्थापित गरेका दिनेशले पछिल्ला केही फिल्म यता आफूलाई बदले । आइएम सरि , नोभेम्बर रेन र क्लासिक जस्ता लभ स्टोरी फिल्म निर्देशन गरेका दिनेशले पर्व मार्फत जनरा परिवर्तन गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रसाद’ को निकै चर्चा भयो ।
प्रसादसम्मको यात्रा तय गर्दा दिनेशले आफ्नो निर्देशकीय शैलीमा परिवर्तन गर्दै फरक जनरामा आफूलाई प्रमाणित गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रकाश’ मा उनी मात्र फेरिएका छैनन्, चकलेटी लुक्समा प्रदीप पनि फेरिए । ‘प्रेम’ को उपनाम दर्शक मार्फत पाएका प्रदीपलाई प्रकाश बन्न सहज थिएन । आफ्नो चकलेटी लुक्ससँगै अभिनय क्षमता देखाउनु पर्ने चुनौती पनि थियो ।
यद्यपि सार्वजनिक टिजरले यसलाई मेटाएको छ । प्रदीपका फ्यानले रुचाएका छन् भने उनको अभिनयलाई लिएर आउने प्रतिक्रिया पनि सकारात्मक छ । निर्देशन राउतले आफूले प्रदीपमा देखेको क्षमतालाई दर्शकसम्म ल्याउने आट गरेको बताउँछन् । ‘प्रदीपलाई पनि प्रकाश बनाउन सहज थिएन । यद्यपि उनले सक्ने भूमिका र त्यसको लागि गर्ने मेहनत देखेर मैले उनलाई प्रकाशको रुपमा दर्शकसामु ल्याउने आँट गरेको हुँ’ निर्देशक राउतले भने । उनले फिल्म मार्फत प्रदीपको चकलेटी ब्वाईसँगै चरित्रलाई निर्वाह गर्ने सक्ने क्षमतालाई बाहिर ल्याउनेमा विश्वस्त छन् । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । फिल्म भदौ १० गते रिलिज हुँदैछ ।