फाइल तस्वीर

अन्य

एसियाली खेलकुदको तयारी सुरु

By खबरहब

June 07, 2022

काठमाडौँ- चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरेका हुन् । उनले बन्द प्रशिक्षण १९ औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए ।

सदस्य सचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको उल्लेख गरे । कार्यक्रममा उनले २३ खेलका सम्बन्धित खेल सङ्घका पदाधिकारीलाई खेल सामग्रीसमेत हस्तान्तरण गरे ।

त्यसैगरी खेलाडीका तर्फबाट एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताइन् । प्रशिक्षको तर्फबाट भने भारोत्तोलन खेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको उल्लेख गरे ।

पहिलो चरणको प्रशिक्षण यही जेठ २४ गतेदेखि आगामी असार २३ गतेसम्म चल्नेछ । २३ खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउनेछ ।