बलिउड/हलिउड

चर्चामै सीमित ‘मुन्ना भाइ चले अमेरिका’ 

By खबरहब

July 07, 2022

काठमाडौँ- सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्‍यो । राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनीप्रति दर्शकको मनमा श्रद्धा समेत बढायो । फिल्म हेर्नेले सञ्जयको जीवनलाई बुझे । त्यसपछि उनको फिल्म भटाभट बलिउडमा आयो । तर, कुनै फिल्मले दर्शकको साथ पाउन सकेन किनकि फिल्मको कन्टेन राम्रो थिएनन् ।

पछिल्लो समय सञ्जय आफैँले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शको माया नपाएपछि उनी ‘मुन्ना भाइ चले अमेरिका’ बनोस् भन्ने चाहेका छन् । उनको करियरलाई माथि पुर्‍याउने फिल्म ‘मुन्ना भाइ’ सिरिजको तेस्रो भाग आउने आसमा दर्शक छन् । त्यस्तै आशावादी संजय पनि छन् । यद्यपि त्यसको केही सुरसार छैन ।

संजयले आफ्नो नजिकका निर्देशक हिरानीलाई फिल्मलाई सक्दो चाँडो फ्लोरमा लैजाने गरी काम गर्न आग्रह समेत गरेका छन् । हिरानीको डेब्यु फिल्म मुन्ना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्ना भाइ । यी दुई फिल्मले सञ्जय दत्तको छवि मात्र बदलिएन, बलिउडमा धरमराएको करियरलाई अगाडि बढायो ।

करियरमा पहिलो फिल्ममा काम गरिदिएकाले नै निर्देशक हिरानीले  सञ्जयलाई लिएर फिल्म गर्ने तयारी गरेका छन् । दर्शकसमेत तेस्रो सिरिजको प्रतीक्षामा छन् । पहिलो र दोस्रो सिरिजले तानिएका दर्शक अब तेस्रो सिरिजको पर्खाइमा छन् । र , फिल्मको तयारी पनि सुरु नभएको होइन । तर तेस्रो सिरिजको चर्चा चल्दै गर्दा सञ्जय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यति बेला पनि फिल्मको प्रतीक्षा छ ।

‘फिल्मलाई दर्शकले पनि चाहेका छन् , म पनि अभिनय गर्न तयार छु , निर्माता पनि तयार छन् , हिरानी पनि स्क्रिप्टमा काम गरिरहेका छन् अब भन्नुस् फिल्म नबनेर भयो त ?,’ सञ्जयले एक अन्तर्वार्तामा प्रतिप्रश्न गरेका थिए । उनको यो भनाइ पश्चात् दर्शक तेस्रो सिरिज आउनेमा आशावादी थिए।  दर्शककै प्रतीक्षालाई ध्यानमा राखेर निर्देशक हिरानीले लेखक अभिजात जोशीसँग काम अगाडि बढाइरहेको खबर बेलाबखतमा आउने गरेको थियो ।

 यद्यपि निर्देशक हिरानीले शाहरुख खानलाई लिएर ‘डंकी’ छायांकन गरिरहेका छन् । मुन्ना भाइको सिरिजको प्रतीक्षामा रहेका फ्यानहरु फिल्म बन्ने वा नबन्ने अझैँ मेसो पाएका छैनन् । किनकि यस विषयमा हिरानीले आधिकारिक रूपमा केही बताएका छैनन् ।

फिल्मका निर्माता विधु विनोद चोपडासँग निर्देशक हिरानीको सम्बन्ध पछिल्लो समय ठिकठाक नभएकोले पनि फिल्मको काम अगाडी बढ्न नसकेको चर्चा बि-टाउनमा हुने गरेको छ । तत्कालीन समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा तयार हुने भनिएको ‘मुन्ना भाइ चले अमेरिका’ बन्छ या बन्दैन ? यसको ठोस खबर अझैँ आउन सकेको छैन ।