काठमाडौँ– बास्केटबल प्रेमीहरूका मनको ढुकढुकी बनेका ५० को दशकका प्रख्यात एनबीए स्टार बेल रसेलको निधन भएको छ । ८८ वर्षको उमेरमा उनको गत आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रसेल तीनै खेलाडी हुन्, जसले आफ्नो १३ बर्षे एनबीए क्यारियरमा बोस्टन सेल्टिकलाई ११ पटक उपाधि मात्र दिलाएनन् । पाँचपटक मस्ट भ्यालुएबल प्लेयर समेत घोषित भए ।
सन् १९५६ मा उनकै नेतृत्वमा अमेरिकाले ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । यति मात्र होइन, उनी पहिलो अश्वेत मुख्य प्रशिक्षक हुन् । ‘बेल रसेल टिम स्पोट्सका सर्वकालीन उत्कृष्ट खेलाडी हुन्,’ उनका थुप्रै समर्थकको कथन छ ।
एनबीए बास्केटबलका जानकारहरू उनले बोस्टन सेल्टिकलाई दिलाएका सफलता नै उत्कृष्ट स्तरलाई पुष्टि गर्न पर्याप्त भएको बताउँछन् । खेल जीवनभर सामाजिक न्यायका लागि आवाज उठाउने उनको पदचापमा धेरै जना हिँडेका छन् । खेलाडीका रूपमा एनबीएका कमिस्नर एडम्स सिल्भर रेसललाई एनबीएका सर्वकालीन विजेताका रूपमा व्याख्या गर्न चाहन्छन् ।
उनको प्रभाव र चर्चा एनबीए बास्केटबल रहेसम्म कायम रहने सिल्भर बताउँछन् । सिल्भरकै विचारमा एनबीएको अहिलेको माथिल्लो उचाइसम्म पुर्याउन रसेलको महत्त्वपूर्ण भूमिका छ । अमेरिकी जनमानसमा एनबीएको उचाइमा रसेलको भूमिका र योगदान कहिल्यै भुल्न नहुनेसमेत सिल्भर बताउँछन् ।
सन् २०७५ मा खेलाडीको रूपमा हल अफ फेम अवार्ड पाएका उनले सन् २०२१ मा प्रशिक्षकको रूपमा यस अवार्ड पाएका थिए ।
आइतबार पारिवारिक स्रोतले रसेलले शान्त पूर्वक देह त्याग गर्दा उनको श्रीमती साथमै रहेको जनाएको छ । सन् १९३४ मा जन्मिएका रसेलको सुरुवाती खेल यात्रामै सान फ्रान्सिस्को कलेजको भूमिका महत्त्वपूर्ण रहेको थियो । त्यहाँबाट छात्रवृत्ति पाएका उनले सन् १९५५ र १९५६ मा कलेजलाई राष्ट्रिय च्याम्पियन बनाएका थिए । कलेजको विद्यार्थी रहँदा उनी हाइजम्पका राम्रा खेलाडी समेत थिए ।
खेल जीवनमा रसेलले विभिन्न आरोह अवरोह भोग्नुपरेको थियो । ७० वर्षअघि अमेरिकी समाज अहिलेको जस्तो परिष्कृत भइसकेको थिएन । कानुनी रूपमा रङ्गभेद नीति त थिएन तर यसको असर पक्कै थियो । रसेलले पनि आफूले भोगेको सङ्घर्षपूर्ण जीवनमा रङ्गभेदी सोचले असर गरेको महसुस गरेका थिए ।
मार्टिन लुथर किङ्गका अनुयायी उनी किङका धेरै भाषण पनि सुन्ने गर्थे । ‘ह्वाट अ ड्रिम’ किङको सर्वाधिक लोकप्रिय भाषण थियो । यसै भाषणबाट प्रभावित उनी सन् १९६७ मा मोहम्मद अलीको समर्थनमा भएको क्लेभेन्ट समिटमा सहभागी भएका थिए । सन् १९६६ मा उनी अमेरिकी इतिहासकै पहिलो मुख्य प्रशिक्षकको रूपमा चयन हुने अश्वेत भए । उनले बोस्टनमा रेड अयुरबाकलाई प्रतिस्थापन गरेका थिए ।
बोस्टन छाडे पनि उनी केही समय टेलिभिजन प्रस्तोताको रूपमा काम गरेका थिए । यसपछि फेरि सिटल सुपरसोनिकको प्रशिक्षकको रूपमा बास्केटबलमा फर्किएका थिए । लामो समयपछि उनले स्कारोमेन्टो किङको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।
एनबीए बास्केटबललाई अहिलेका उचाइमा लैजानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई सन् २००९ मा भने ठूलो सम्मान दिइएको थियो । एनबीएले मस्ट भ्यालुएबल प्लेयरको अवार्ड समेत उनको नाममा राखिएको थियो । उनी आफै उपस्थित भएर कोबे ब्रान्टलाई त्यो अवार्ड दिएका थिए ।
रेसल र ब्रान्टको दोस्ती खुबै जमेको थियो । भिन्न पुस्ताका यी दुई स्टार खेलकै बारे धेरै भलाकुसारी गर्थे । सन् २०२० मा हेलिकोप्टर दुर्घटनामा ब्रान्टको निधन भएपछि यसले रसेललाई स्तब्ध बनाएको थियो । यसपछि उनी धेरै नै भावुक बनेका थिए ।
रसेलको निधनमा अमेरिकी बास्केटबलमा आबद्ध व्यक्ति तथा निकायबाट समवेदना व्यक्त हुने क्रम जारी छ । बोस्टन सेल्टिकले सधैँ च्याम्पियन बन्ने क्षमता राख्ने एक सामाजिक अभियन्ताको निधन भएको जनाएको छ । यस्तै म्याजिक जोन्सनले आफ्नो तीन दशक लामो खेल जीवनको एउटा राम्रो मेन्टर गुमेको प्रतिक्रिया दिएका छन् ।
जेनस बसले रसेल खेलाडी भन्दा बढी एउटा असल व्यक्ति भएको प्रतिक्रिया दिएका छन् । उनको निधन साँच्चै दुखद भएको प्रतिक्रिया उनले दिएका छन् ।
त्यसो त कुनै पनि खेलकुदमा सर्वकालीन उत्कृष्ट खेलाडी को हो भन्ने प्रश्नको जवाफ त्यत्ति सहज पक्कै हुने छैन ।
संसारको सर्वकालीन उत्कृष्ट बास्केटबल खेलाडीको सूचीमा माइकल जोर्डनकै नाम लिने गरिन्छ । यिनको कार्यकालमा सिकागो बुल्स पनि संसारको एउटा प्रमुख ब्रान्ड बनेको थियो । उनले एनबीएमा १५ सिजन खेलेका थिए । यस क्रममा उनले सिकागो बुल्सलाई ६ पटक च्याम्पियन बनाएका थिए ।
लस एन्जलस लाकर्सका लागि खेल्ने गरेका लीब्रन जेम्सलाई अर्को उत्कृष्ट बास्केटबल खेलाडीका रूपमा चित्रण गरिएको छ ।
माइकल जोर्डन र ली ब्रोन जेम्स फरक पुस्ताका भएका कारण पनि यिनीहरूको तुलना गर्न कठिन भएको हो । करिन अब्दुल जबार, म्युजिक जोन्सन, कोबे ब्रान्ट त्यस सूचीमा समावेश अन्य बास्केटबल स्टार हुन् । सर्वकालीन उत्कृष्ट खेलाडीको सुचीमा साक्वे ओ नेल, लेरी बर्ड, विल्ट च्याम्बरलीन, टिम डन्कन र स्टेफन कुरी पनि समावेश छन् । केभिन डुरान्ट पनि यस सूचीमा छन् । ओस्बर रोबर्टसन, हाकीम ओलाजामु, केभिन गार्नेट पनि त्यस सूचीमा छन् ।
खेलाडीका रूपमा रसेलको जीवनको समकक्षमा धेरै जना पुगे होलान् । तर, एउटा स्टारले समाजलाई कसरी दिशा निर्देश गर्न सक्छ भन्ने कुराको उनी राम्रो उदाहरण हुन् । सन् १९६२ मा सेल्टीक बोस्टनका लागि खेल्दै गरेको समयमा उनी सहितको खेलाडीले होटेलमा खाना खाने समयमा भएको दुर्व्यवहारका कारण उनी आक्रोशित भएका थिए । त्यहाँबाट गरेको विद्रोहपछि उनी बिस्तारै मानव अधिकारवादी अभियन्ता भएका थिए ।
मोहम्मद अलि भियतनाम युद्धमा सरिक हुन नचाहेपछि रसेलले पनि यस अभियानमा साथ दिएका थिए । सानोमा लाउयीनमा आइपुगेका उनले त्यहाँ पनि रङ्गभेदको महसुस गरेका थिए । त्यसपछि ओकल्यान्ड पुगेर क्यालिफोर्नियाका लागि बास्केटबल खेलेका थिए ।
त्यसपछि उनी एकपटक टोलीमा छनोट भएनन् । त्यस समयमा उनले अश्वेत भएकै कारण उनी छनोट नभएको महसुस गरेका थिए । हाई स्कुल तहमा उत्कृष्ट प्रदर्शन गरे पनि कुनै कलेजबाट छात्रवृत्तिको पहल नभएपछि उनी आश्चर्यमा परेका थिए । लामो समयपछि उनलाई बल्लबल्ल सान फ्रान्सिस्कोले छात्रवृत्ति दिएको थियो ।
कलेज तहमा सानदार प्रदर्शन गरेका उनले चार पटक एनसीएएमा चारपटक मस्ट भ्यालुएबल प्लेयरका लागि चयन भएका थिए । रसेल सान फ्रान्सीस्कोमा रहेसम्म एकपटक उप विजेता हुनु बाहेक हरेकपटक विजेता भएका थिए ।
रङ्गभेदको विरुद्धमा लगातार आवाज उठाउने उनी वासिङटनमा भएको मार्टिन लुथर किङ मार्च पासमा सरिक भएका थिए ।
उनको एउटै मान्यता थियो, ‘यो संसार सुन्दर छ । संसारका सबैले यस सुन्दरताको अनुभव गर्न पाउनुपर्छ ।’
संसारमा खेलकुद नयाँ मोडमा पुगेको छ । आजको समयमा संसारका मानिस एक जुट हौँ भन्ने भावनाको सबैभन्दा धेरै ग्रहण गर्ने देश अमेरिका बनेको छ । युरोपका कतिपय देशमा रङ्गभेदको आवाज उठेको समयमा अमेरिका ती सबै कुराबाट अघि बढेको छ ।
रसेलको आवाजले यस्तो सार्थकता पायो कि, पछिल्लो दशक त एनबीएमा अश्वेत खेलाडीको दबदबा छ ।
ट्रायक एन्ड फिल्ड, बास्केटबल, फुटबल हुँदै अधिक खेलमा अमेरिकाका अश्वेत स्टारको दबदबा छ । २१ औ शताब्दीको अमेरिकी खेलकुदमा अश्वेतहरूको यो सान रहनुमा कुनै दिन रसेलले चालेको अभियानले ठूलो भूमिका खेलेको थियो ।
(बीबीसी, सिबीसी स्पोर्ट्स, बास्केटबल न्वाइज र कम्प्लेक्स डटकमका रिपोर्टहरूमा आधारित।)