रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ । हामीले आफ्नो रिस नियन्त्रण गर्नु आवश्यक हुन्छ । रिसको झोँकमा गरिने हरेक कामले हामीलाई झनै धेरै समस्या निम्त्याउँछ । मानिस रिसाएको बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ ।
रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका छन् । कहिलेकाहीँ त कसरी धेरै यति ठूलो घटना भयो भन्नेसम्म पनि रिसाएको मानिसलाई थाहा पाउँदैन । रिसकै कारण पारिवारिक कलह, झगडा, बेमेल, पारपाचुके जस्ता समस्या निम्त्याउने समस्या हुन्छ ।
असाध्यै रिसाएको बेलामा मानिसले आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यही कारण रिसको आवेगमा नराम्रा घटना भएको पनि सुनिन्छ । परिवारमा हुने झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ ।
चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु, तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चात्ताप गर्नुपर्ने पनि हुन सक्छ । रिसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारे वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
बढ्दो क्रममा रहेको रिसलाई कसरी बुझ्ने ?
मनोवैज्ञानिक हिसाबले रिस भनेको सामान्य हो । ब्लड प्रेसर हाइ भयो भने त्यसको उपचार गर्नुपर्छ । त्यसै गरी मानिसहरूमा सामान्य रिस भयो भने केही गर्नु पर्दैन तर प्रेसरजस्तै उच्च भयो भने उपचार गर्नु आवश्यक पर्दछ । व्यक्ति अनुसार यसको असर फरक हुन्छ । बढी रिस उठ्यो र त्यो रिसले गर्दा शरीरमा शारीरिक र मानसिक लक्षणहरू पनि देखा पर्दछ त्यो अवस्थामा रिसलाई म्यानेज गर्नु आवश्यक ।
कसरी थाहा पाउने त यो रिस बढ्दैछ या यसले असर गर्दै छ भनेर ?
सामान्य रूपमा रिस उठ्नु भनेको स्वाभाविक हो । आफ्नो कन्ट्रोलमा छ भने खासै असर गर्दैन तर रिसले आफूलाई कन्ट्रोल ग¥यो भने हाम्रो शरीरमा भावनात्मक लक्षणहरू मान्छे तनावमा हुने, निद्रा नलाग्ने, मुटुको चालहरू बढेर आउने, शरीरमा एक किसिमको नकारात्मक हर्मन उत्पादन भएको हुन्छ ।
त्यसलाई म्यानेज गरेन भने भोलि गएर नराम्रो असर गर्न सक्छ ।
आफूलाई रिस उठेको त थाहा हुन्छ तर अरूलाई रिस उठेको कुरा कसरी थाहा पाउने ?
रिसमा बाहिर देखिने भनेको उसको बानी हो उसको कस्तो क्रियाकलाप छ, त्यसको आधारमा पनि थाहा हुन्छ । एउटा व्यक्ति रिसाएको छ भने अर्को व्यक्तिले सहजै स्वीकार्यो भने त केही केही हुँदैन । सहजै त्यो समाधान हुन्छ । आफैले रिस उठेर शरीरभित्र नेगेटिभ हर्मन उत्पन्न भयो भने त्यसको बेफाइदा आफैलाई हुन्छ ।
रिसले निम्त्याउने शारीरिक समस्या के छ ?
कोही मान्छे सानो सानो कुरामा रिसाउने, आफूले चाहेको कुरा भन्न नसक्ने र त्यो पाएन भने रिसाउने हुन्छ । त्यसैले आफूलाई कुन कुरामा रिस उठ्छ त्यो कुरा नै नगर्ने, त्यो सोचाई नै मनमा नल्याउने गर्नुपर्छ ।
रिसले भइरहेको सम्बन्ध नै तहसनहस बनाइदिन्छ । श्रीमान श्रीमतीको हकमा भने दुवै पक्ष आगो होइन । एउटा आगो भए अर्को पानी बन्न सक्नुपर्छ । रिसले टाउको दुखेर अस्पताल पुर्याउन पनि सक्छ ।
धेरै रिसाउने मानिसको तौल बढ्छ भनिन्छ, यसमा कत्तिको सत्यता छ ?
यो मानिसहरूको मनोविज्ञानमा भर पर्दछ । खानेकुरा र व्यायाम पनि भर पर्दछ । कोही मान्छे रिसाएर सुत्ने एकै ठाउँमा बस्ने हुन्छ, रिसाएरै खानामा मात्र ध्यान दिने खालको पनि हुन्छ । त्यसले गर्दा शारीरिक व्यायामहरु हुँदैन र जसले गर्दा तौल बढ्ने नभए पनि नकारात्मक असर भने पारेको हुन्छ ।
अरूले थाहा पाउने गरी रिस उठ्यो भने के हुन्छ ?
अरूले उसको लागि नराम्रो सोच्न सक्छ । उसको काममा र पढाइमा पनि असर गर्न सक्छ । यसको नकारात्मक असर छ । रिसलाई मानसिक स्वास्थ्यसँग यसलाई भन्न मिल्दैन तर लामो समय सम्म रिसलाई आफ्नो शरीरले धारण गरेर राख्यो भने यसको प्रभाव आफैलाई नकारात्मक हुन्छ ।
ब्लड प्रेसरहरू बढ्न सक्छ, एन्जाइटी, डिप्रेसन, निन्द्रा नलाग्ने हुन्छ कतिपय मान्छेहरू रिसलाई कन्ट्रोल गर्नको लागि अल्कोहल सेवन गर्ने पनि हुन्छ यसले परिवार र समाजमा नकरात्मक प्रभाव पर्दछ भने हानी आफैलाई हुन्छ ।
पछिल्लो समय सानो कुराको रिसले पनि पछि ठूलो समस्या निम्त्याएको देखिन्छ, यो अवस्था नआओस् भनेर रिसलाई कसरी व्यवस्थापन गर्ने ?
रिसको आवेगले आफूले आफूलाई र अरूलाई पनि असर गर्न सक्छ । धेरै रिस उठेको छ भने विस्तारै आफ्नो पेटलाई फुलाएर भित्रबाट तानेर बाहिर निकाल्ने र आफ्नो दिमागलाई त्यो श्वासप्रश्वास तर्फ तान्ने कोसिस गर्नु पर्दछ । योगाहरू गर्ने, व्यायामहरु गर्ने । रिस उठ्यो भने आफूलाई जे मन लाग्यो त्यही गर्नु हुँदैन। समय बित्दाबित्दै यो बिस्तारै कन्ट्रोल हुन्छ । आफूलाई नियन्त्रण गर्न सक्नुपर्छ ।
अन्त्यमा,
रिसको कारणले कति मान्छेलाई निन्द्रा नलाग्ने, कतिपय मान्छेलाई अल्कोहलको सेवन गर्नुपर्ने, कसैको श्रीमानको रिसको कारणले श्रीमतीलाई डिप्रेसन भएको देखिन्छ ।
आमा बाबुको झगडाले बच्चामा पनि मनोवैज्ञानिक असर परेको देखिन्छ । त्यसको लागि जसरी ब्लड प्रेसरलाई ठिक ठाउँमा राख्नलाई खानपानमा ध्यान दिने, जाँच गर्ने गर्छौँ, त्यसरी नै यो रिसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेबारे बुझ्न जरुरी छ ।
मनोचिकित्सकहरूसँग पनि सल्लाह लिन सकिन्छ । औषधि नै चलाउनुपर्छ भन्ने छैन । यो रिसले गर्दा भोलि ब्लड प्रेसर, सुगर पनि हाई हुन्छ र एन्जाइटी, डिप्रेसन पनि हुन सक्छ । त्यसैले रिसलाई हामीले म्यानेज गर्नु पर्दछ रिसले हामीलाई कन्ट्रोल गर्नु हुँदैन ।
(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)