ब्रेकिङ स्टोरी

प्रचण्डको कच्चा कूटनीति

By खबरहब

August 07, 2022

काठमाडौँ : नेपालका राजनीतिक पार्टीका नेताहरु कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । जापानमा रहेका प्रचण्डले गएको महिना गोली प्रहारबाट मारिएका त्यहाँका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग कुराकानी र भेटवार्ता भएको बताए ।

उनले आफू जापानी नेताहरसँग परस्पर सम्बन्धमा रहेको बताउन चाहेका थिए । तर भैदियो, उल्टो । आफूलाई धेरै कुटनीतिक खेलाडी भन्न रुचाउने प्रचण्डले आबेसँग भेटवार्ता भएको भनेर सार्वजनिक अभिव्यक्ति दिए ।

यो उनका लागि यति खराब साबित भयो कि प्रचण्ड स्वयंमलाई अब झुटो बोलेको, अरुभन्दा आफू जान्ने पल्टेको र नेपालको जस्तो जता पनि ढाँटेर चल्छ भन्ने बानी कम्तीमा विदेशी भूमिमा पाच्य हुँदैन ।

केही समयअघि उनले भारत भ्रमण गरेका थिए । विमानस्थलमा मोदीसँग पनि भेटवार्ता गर्छु भनेर गएका प्रचण्ड रित्तो हात फर्किए । उनी बोलीबाट आफूलाई धेरै माथि पार्न चाहन्छन् । तर व्यवहारमा ठीक उल्टो हुन्छ ।

यो उनको व्यक्तिगत बोली होला । तर पटक पटक प्रधानमन्त्री भएको देशको प्रतिनिधित्व गरेर त्यसमाथि आफूलाई प्रमुख राजनीतिज्ञ ठान्ने प्रचण्ड प्रवृत्तिबाट सिंगो देश प्रताडित बन्न सक्छ । जापानमा बोली र समयको निकै ख्याल राख्ने गरिन्छ ।

बोली जति कडा हुन्छ, व्यवहार ठीक उस्तै । तर नेपाली नेताहरुमा बोली असाध्यै चिल्लो तर व्यवहारमा खस्रो हुने बानीले गर्दा धेरै समस्या उत्पन्न भएका छन् । जसले गर्दा नेपालको परराष्ट्र नीति, नेताहरुको बोली र यसले दिगो रुपमा वैदेशिक क्षेत्रमा असर पर्छ ।

त्यसमाथि नेपाल–जापान सम्बन्ध नयाँ होइन । जहाँ प्रचण्डले गएर जापानका पूर्वप्रधानमन्त्रीलाई भेटेको, कुरा गरेको भन्नु हास्यास्पद हो । यसले भोलिका दिनमा धेरै ठूलो क्षति गराउन सक्छ । आगामी दिनमा नेपालबाट हुने उच्चस्तरका भ्रमणमा पनि प्रचण्डको यो बोली मजाकको विषय बन्न सक्छ ।

जसले गर्दा भोलिका दिनमा समेत प्रचण्ड आफैँलाई आफ्नै अभिव्यक्ति भारी पर्छ ।

भ्रमणकै औचित्यमाथि प्रश्न

प्रचण्ड शनिबार जापान पुगे । उनले जापान पुगेर त्यहाँका नेपालीले आयोजना गरेको नेपाली फेस्टिभलको उद्घाटन गरे । त्यसपछि उनका भ्रमण र भ्रमणका फोटो हेर्दा त्यति उत्साहजनक छैन । नेपालको राष्ट्रियस्तरको नेता जापानका विभिन्न ठाउँ घुम्न गएको जस्तो देखिएको छ ।

जसले पूर्वप्रधानमन्त्री जस्तो व्यक्ति बेकामे बनेर जापानका सडकमा घुमिरहेको महसुस कम्तीमा त्यहाँका राजनीतिज्ञलाई नहोस् । प्रचण्डले आफ्नो यतिबेलाको हिडाईलाई भ्रमण भनेका छन् । तर उनी त्यहाँ पुगेर कुन उच्च पदस्थ व्यक्तिसँग कुराकानी गरे भन्ने खुलेको छैन ।

बरु उनले नेपाली मेला उद्घाटन गरेपछि अमेरिकाले बम खसालेको हिरोसिमाको भ्रमण गरेका छन् । बमले ध्वस्त सहरलाई जापानले हरियाली बनाएको छ । त्यसको अवलोकन भ्रमण गरिरहँदा नेपालका कति क्षेत्रमा वृक्षारोपण गरेर उनले नेपालको प्रकृतिलाई जोगाए भन्ने पनि स्पष्ट छैन ।

प्रचण्डको आधिकारिक कम्तीमा फेसबुक पेज पल्टाउँदा मात्रै पनि यो उनको लागि आवश्यकीय र महत्वपूर्ण जापान भ्रमण होइन । नेपाली राजनीति र पछिल्लो समय सत्ता गठबन्धनभित्रको किचलोमा परेका प्रचण्ड आफैँलाई राहत दिन जापान पुगेको मात्रै आभास हुन्छ ।

जापान पुगेर उनले त्यहाँ रहेका नेपालीलाई र कम्तीमा जापानको उच्च राजनीतिक नेतृत्वसँग वार्ता गर्ने हिम्मत उनमा देखिएको छैन । वा त्यसबाट नेपालीलाई कम्तीमा कुनै पाठ वा सन्देश दिने गरि पनि उनको जापान भ्रमण केन्द्रित भएको देखिदैन ।

यस्तो कच्चा कूटनीति अंगालेका प्रचण्डका लागि यो शोभनीय विषय त होइन नै आम नेपालीका लागि पनि नेपालका उच्च राजनीतिक नेताबाट भइरहेको यस किसीमको खराब प्रवृत्ति दोहोरिन हुँदैन ।