तस्वीर- अलामी/इम्याजिन चाइना

अन्तर्राष्ट्रिय

चीनको घरजग्गा बजारमा संकट : एसियाकी सर्वाधिक धनाढ्य महिलाको सम्पत्ति आधा घट्यो

By खबरहब

August 07, 2022

काठमाडौँ– चीनमा जारी आर्थिक दुरावस्थाका कारण एसियाकै सबैभन्दा धनी महिलाले पछिल्लो एक वर्षमा आफ्नो आधा सम्पत्ति गुमाएकी छिन् ।

बिलेनियर इन्डेक्सलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार एसियाकै धनाढ्य महिला याङ हुयियानको सम्पत्ति ५२ प्रतिशतले घटेर ११ अर्ब ३० करोड अमेरिकी डलरमा सीमित भएको छ ।

यसअघि अघिल्लो वर्ष उनको सम्पत्ति २३ अर्ब ७० करोड रहेको ब्लुमबर्ग बिजनेस इन्डेक्सले जनाएको छ । उनी चिनियाँ घरजग्गा कम्पनी कन्ट्री गार्डेनमा बहुमत शेयरधनी रहेको जनाइएको छ ।

उक्त कम्पनीका संस्थापक याङ गुओचियाङकी छोरी समेत रहेकी उनले अधिकांश सम्पत्ति आफ्नो बुवाबाट प्राप्त गरेको द गार्जियनले जनाएको छ ।

पछिल्लो समय चीनमा घरजग्गाको क्षेत्रमा ठूलो वित्तीय समस्या पैदा भएको छ । यसकारण त्यहाँको महत्वपूर्ण घरजग्गा कम्पनी एभरग्राण्ड ऋणमा डुबेको छ भने अरु कम्पनीहरु पनि समस्यामा रहेको जनाइएको छ ।

चिनियाँ घर जग्गा बजारमा देखिएको वित्तीय समस्याले मुलुकका अन्य क्षेत्रलाई पनि प्रभावित बनाउने चिन्ता उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।