काठमाडौँ- आज दिनभर जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो, सत्ता गठबन्धनमा सामेल हुन लोसपालाई प्रस्ताव, गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति एमालेको विरोध, ६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ, वन अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा लगायतका समचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।
बैठकमा महाभियोग प्रस्ताव महाभियोग सिफारिस प्रस्ताव समितिमा पठाइयोस भन्ने सभामुख अग्नि प्रसाद सापकोटाको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको थियो । अव समितिले तीन महिनाभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रधानन्यायधिशबिरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव नियतबस लम्वाईएको आरोप लगाएका थिए भने सत्तापक्षका सांसदहरुले महाभियोग प्रस्तावको बचाउ गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
सत्ता गठबन्धनमा सामेल हुन लोसपालाई प्रस्ताव प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन ।
प्रधानमन्त्री देउवालाई भेट्न आज बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई सो प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले बताए । लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
यद्यपि तीमाग मध्ये नागरिकता विधेयक संसद्बाट पारित भइसकेको छ । अहिले सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहका छन् ।
प्रचण्ड र माधवले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिए : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि दलहरुले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताएका छन ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहको बताएका हुन ।
प्रचण्ड र माधव नेपालहरु कांग्रेस नामको बञ्चरोको बिड भएको र उनीहरुको कुनै अस्तीत्व नै नरहेको ओलीको भनाई छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफु दोश्रो हुनका लागि उनीहरु कांग्रेसको पछि पछि हिडेको धारणा राखे ।
कांग्रेसका पछाडी लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्काउने काम भएको तर्क गरे । उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अव निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए ।
तत्काल वाम एकताको सम्भावना छैन : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन ।
एमाले जिल्ला कमिटी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पोखरेलले .माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको टिप्पणी गरेका हुन ।
बर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भएपनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन ।
संसद भवनमा सञ्चारकमीसंग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यवधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन ।
प्रधानमन्त्रीले राजीनामा गरेमा , संसदमा विश्वास गुमाएमा र संसद बिघटन भएमा मात्र सरकार काम चलाउ हुने उनको भनाई छ । त्यस्तै एमाले नेता गोकुल बास्कोटाले एउटै चूनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चूनौति दिए । उनले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको बताए ।
गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति एमालेको विरोध नेकपा एमाले गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति आन्दोलनमा उत्रिने भएको छ ।
नेकपा एमाले गण्डकी प्रदशले पोखरामा आज पत्रकार सम्मेलन गर्दै सरकारले गरेका बेथितिका विरुद्ध सडक आन्दोलनमा जाने घोषणा गरेको हो ।
सरकारले घरजग्गा तथा यातायातमा गरेको कर वृद्धिदेखि आफन्तका नाममा ट्रष्टमा राखेको रकम फिर्ता लगायत विभिन्न मागसहित सडक आन्दोलन तताउने भएको हो ।
६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ स्याङ्जामा ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो ।
गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । ती बालिका गल्याङ नगरपालिका २ ईलुङ्गाका मिनबहादुर रानाको छोरी हुन् ।
वन अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोर सिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।
अरिंगालले टोक्दा एकजनाको मृत्यु रुकुम पश्चिममा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१ का ३८ वर्षीय सुवर्ण सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।
३ दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो।
सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो। अरिंगालले उनलाई ५३ ठाउँमा चिलेको बताइएको छ ।
थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४० पिसिआर परिक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ४ सय ३३ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।