ब्रेकिङ स्टोरी

‘दुखाइ कम गर्ने औषधिले डेंगु निको हुँदैन’

By विना न्यौपाने

September 07, 2022

काठमाडौँ- पछिल्लो समय ‘डेंगु’ भनेकै ‘दुखाइ’ हो भन्ने बुझाइका कारण संक्रमितले दुखाइ कम गर्ने औषधिको सहारा लिन थालेका छन्। अत्यधिक पीडा हुने भएकाले धेरैले आफूलाई सिटामोलले खासै काम नगरेको वा केही घण्टामा नै फेरि शरीरमा अत्यधिक पीडा फर्किएको बताउने गरेका छन्।

यसैको ज्वलन्त उदाहरण बनिन्, काठमाडौं स्वयम्भूकी सजिता महर्जन। टाउको दुखाइ अत्यधिक भएपछि उनले सिटामोल किनेर त खाइन्। तर, दुई घण्टा पनि रोक्न नसकेपछि फेरि मेडिकलको सहारा लिन पुगिन्। शारीरिक पीडा कम गर्न उनले ‘फ्लेक्सन’ औषधि खाएको अनुभव खबरहबलाई सुनाइन्। सजिताजस्ता धेरैको साझा समस्या हो अहिले ‘डेंगु’ संक्रमण अनि दुखाइ।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ओपीडीमा आएका संक्रमितमध्ये झन्डै १० प्रतिशतले उपचार गर्न आउनुभन्दा अगाडिसम्म फ्लेक्सन प्रयोग गर्ने गरेको पाइन्छ।

यसबाट संक्रमितमा डेंगुको जोखिम झन् बढ्न सक्छ। त्यसैले चिकित्सकको सल्लाहबिना आफूखुसी जथाभाबी औषधिको प्रयोग नगर्न उनको सुझाव छ।

अहिले डेंगु व्यापक फैलिँदो छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म डेंगु ६९ जिल्लामा पुगिसकेको छ। भदौ १७ सम्म डेंगु संक्रमितको संख्या चार हजार १ सय ४ पुगेको छ। जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९ सय ९३ जनामा डेंगु पुष्टि भएको छ।

यसवर्ष डेंगुबाट ललितपुर सबैभन्दा धेरै प्रभावित बनेको छ। ललितपुरमा एक हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैले पनि परिवार–परिवारमा, टोल–टोलमा डेंगुको दुखाइ लिएर अस्पताल जानेको संख्या बढ्दो छ।

धेरैजसोले राति सुत्दा झुल लगाउने र लामखुट्टे भगाउने धुप वा अन्य उपाय अपनाउने गर्दछन्। तर, डेंगु भाइरस फैलाउने यो लामखुट्टे भने रातमा भन्दा दिनमा बढी सक्रिय हुने र टोक्ने गर्दछ।

‘कोभिड जसरी नै कतिपयले डेंगु संक्रमितसँग बस्दा वा नजिकै बस्दा पनि सर्छ भन्ने लाग्दो रहेछ,’ डाक्टर शेरबहादुर पुन भन्छन्।

डेंगु लामखुट्टेको टोकाइबाट मात्र सर्छ र यो अरू संक्रामक रोग जस्तो होइन भन्ने जानकारी अधिकांशलाई नभएको डा. पुनले बताए। कतिपय डेंगु संक्रमितले आफूसँगै काम गर्ने अरू कर्मचारीमा पनि आफूलाई जस्तै लक्षण देखिएको भन्ने गरेका छन्। विशेषतः पानी संकलन हुने सामान, भाँडा, गमला वा खाल्डो आदिमा लामखुट्टेका लार्भा सहजै विकास हुने भएकोले त्यस्ता ठाउँमा विशेषत निगरानी गर्नुपर्छ। वयस्क लामखुट्टे कालो–सेतो छिरबिरे रंगको हुने भएकाले यसलाई ‘जेब्रा लामखुट्टे’ पनि भन्ने गरिन्छ।

डेंगु संक्रमण भएको चारदेखि १० दिनसम्म विभिन्न लक्षण देखा पर्ने गर्दछन्। दुखाइबाहेक उच्च ज्वरो आउनु, आँखाको गेडी खस्ला जस्तो हुनु, वाकवाकी वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खान मन नलाग्नु डेंगु संक्रमिमा देखिँदै आएका प्रमुख लक्षण हुन्। विगतमा आँखा रातो हुने, शरीरमा स–साना राता बिबिरा देखिनेजस्ता समस्या भने हाल संक्रमितमा अलि कम नै देखिएको छ। तर, पखाला वा पातलो दिसा हुने समस्या भने हाल धेरै संक्रमितले सुनाएको डा. पुनले बताए।

जुन यसअघिको लहरमा देखिँदैन थियो। डेंगु पुष्टि भएपछि आत्तिन नहुने उनको भनाइ छ। पुष्टि भएका सबै अस्पतालमा भर्ना हुनुपर्छ भन्ने पनि छैन।

डेंगुमा पनि निश्चित वा विशेष लक्षण देखिए अस्पताल भर्ना हुनुपर्ने संकेतका रूपमा लिन सकिन्छ। तारन्तार वान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिँजा वा शरीरका अरू ठाउँबाट रगत बग्नु, दिसा पिसाब वा वान्तामा रगत देखिनु, बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ देखिनु आदि लक्षण संक्रमितमा देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने वा अस्पताल जान चिकित्सकको सुझाव छ। यस्ता स्वास्थ्य समस्या देखिए संक्रमित जटिलतातिर गइरहेको हुनसक्ने विज्ञहरु बताउँछन्।

हाल डेंगुको लहर तीव्र फैलँदो क्रममा छ। अहिले काठमाडौं केन्द्रित जस्तो देखिएको डेंगु देशका हिमाली भेगमा समेत पुगेको छ। डेंगु नफैलियोस् भन्नका लागि लामखुट्टे नियन्त्रणमा विशेष पहल गर्न ढिला भइसकेको छ। डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष शतर्कता अपनाउने र जटिलताका संकेत देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जानु पर्दछ।

डेंगु नियन्त्रण गर्न सम्बन्धित निकायले तदारुकताका साथ काम गर्न ढिला भइसकेको छ। त्यसैले सम्बन्धित निकायको ध्यान यता जान आवश्यक देखिन्छ।