फाइल तस्वीर

देश/प्रदेश

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

By खबरहब

November 07, 2022

सुर्खेत– प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका एक सय एक कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए ।

उहाँका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट एक सय दुईजना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा एकजनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उनले बताए ।

कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो-जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा तीन सय ७२ कैदीबन्दी छन् ।

कारागार कार्यालयका अनुसार तीन सय ३२ पुरुष, ४० महिला र आश्रित चार बालबालिका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरु अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।