राजनीति

बोहोरालाई जिताए गृहमन्त्री बनाउने राणाको आश्वासन

By खबरहब

November 07, 2022

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दीपक बोहोरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सोमबार बिहान भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘दीपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’

राणाले बोहोराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे । ‘दिपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न मात्रै बाँकी छ, ’ उनले भने । राणाले रूपन्देही- ३ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । 

उनले कांग्रेसको कारण देश संकटमा परेको आरोप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्नेसमेत बताए ।