राजनीति

‘निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ’

By खबरहब

November 07, 2022

बुटवल– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दाबी गरेका छन् । सोमबार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए । 

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने, ‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरू पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’ गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरूमा पनि आन्तरिक विभाजन आउने दावी रायमाझीले गरे । रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएको समेत दाबी गरे । गठबन्धनका कुनै एजेण्डा नरहेको उनको दाबी छ । ‘कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने । 

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ ।गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताए । उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए । 

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए ।