तस्वीर- एयू/यूएन

अन्तर्राष्ट्रिय

सोमाली सुरक्षा फौजको कारवाहीमा २१ अल शबाब लडाकु मारिए

By खबरहब

November 07, 2022

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राष्ट्रिय जासुसी एवम् सुरक्षा एजेन्सी (निसा) ले मुलुकको मध्य भागमा गरेको कारवाहीमा लडाकु समूह अल शबाबका २१ लडाकु मारिएका छन् ।

कारवाहीमा अरु दर्जनौँ लडाकु घाइते भएका छन् । स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको योजनाबारे गुप्तचर निकायले पूर्वसूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारवाही गरिएको सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सोमाली सेनाले गरेको कारवाहीका क्रममा गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ ।’’

मन्त्रालयले अल–शबाब लडाकुहरुलाई परास्त गर्न सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।