फाइल फोटो

राजनीति

आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

By खबरहब

November 07, 2022

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन् । 

काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार रहेका पोखरेलले सोमबार घर दैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले एमालेले उठाएका विषयहरू जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका हुन् ।

उनले एमालेले उठाएका विषयहरूलाई साकार पार्नका लागि जनताको साथ र समर्थन एमालेले पाउने जिकिर गरे । निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरू च्यातिसकेकाे उनको भनाई छ । पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगायतका मुद्दाहरूलाई स्थापित गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।

यसअघि विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।