अन्तर्वार्ता

पुरानो ढंगले संसद चलाए उपलब्धी हुँदैन

By खबरहब

December 07, 2022

मङ्सिर ४ गते सम्पन्न संघीय चुनावको परिणाम सार्वजनिक भइसकेको छ। कुनै पनि दलले स्पष्ट बहुमत नपाएकाले कस्तो सरकार बन्छ भन्ने चासो बढ्दै गएको छ। संसदमा अधिकांश नयाँ अनुहार निर्वाचित भएपछि आम नागरिकको चासो नयाँ सांसदको भूमिकाप्रति बढी नै देखिन्छ। अबको राजनीति र संसद्मा दलको भूमिका विषयमा केन्द्रित भएर सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका तेजुलाल चौधरीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं अहिलेसम्म चार पटक निर्वाचित भएर आउनु भएको छ। नागरिकको मत बलियो कि चुनाव लड्ने आँट गर्ने तपाईंको मन बलियो ? मतसँगै मन पनि बलियो चाहिन्छ। पहिला जनतासँग जाँदा मलाई आत्मविश्वास बढ्यो। त्यसैले जनताले मलाई मन पराउनुभयो। पहिला आफूमा आत्मबल हुनुपर्दछ। विगतमा आफूले गरेका कामका आधारमा मलाई जनताले जिताउनु भएको छ। यसले मेरो आत्मविश्वास बढाएको हो।

एउटा उम्मेदवारलाई पार्टीबाट टिकट पाउन निकै कठिन पर्छ। तर, तपाईंले पटकपटक टिकट पाउनुको कारण हो ? पार्टीले पत्याउनुको कारण धेरै छ। मेरो निर्वाचन क्षेत्रमा कांग्रेसको बाहुल्यता २०४८ सालदेखि नै हो। त्यसपछि नेपाली कांग्रेसले तीन पटक त्यो छेत्रबाट हार्या। त्यसपछि मैले पहिलो पटक संविधान सभामा टिकट पाएँ। मैले तराई समुदायमा आवाज उठाएर गर्नुपर्ने दायित्व पूरा गरेँ। आएको पैसा मैले शतप्रतिशत प्रयोग गरे। त्यो विकास देखेर जनताले मलाई ७४ को चुनावमा लोकप्रिय मत दिए। मैले चुनाव जितेँ।

चुनावको समयमा धेरै काम गर्छु भन्ने तर पछि नगर्ने भनेर जनताले आक्षेप लगाएका छन्। तपाईंले यो आरोपको सामना गर्नु परेको छ कि छैन ? मलाई पनि त्यो आक्षेप लागेको हो। तर, मैले त्यसमा उत्तर दिन सके। सरकारले जति पैसा दिनुपर्ने थियो त्यो भएन। गाउँ गाउँमा सहयोग माग्नु पर्ने भयो। त्यसमा त्यसै जाँदा जनताकोमा जान कम भयो र बजेट नआएपछि मैले भनेको काम गर्न सकिन र त्यो कारणले हामीले तीन वर्षसम्म केही गर्न सकेनौँ। मैले त्यो विकास नहुनुको कारण भने।

तपाईं कांग्रेसबाट निर्वाचित भए पनि साझा प्रतिनिधि बन्नु भएको छ। तपाईंसँग जनताका अपेक्षा चाहिँ के छन् ? यो दल र त्यो दल भन्दा पनि म सबै जनताको मान्य भएको छु। जनताको चाहना भनेको राम्रो विकास गरोस्, छोराछोरीलाई जागिरको अवसर सिर्जना गरोस्। विद्यालयमा राम्रो पढाइ गरोस् भन्ने नै छ। ठूला अपेक्षा छैनन् तर जनतालाई मैले कहिल्ये निराश पार्ने काम गर्दिन। हाम्रो प्रमुख जिम्मेवारी नीति निर्माण गर्ने हो। तर, जनताले सानासाना काम पनि सांसदले गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्दा चाहेको कुरा गर्न नसक्ने अवस्था छ। यसलाई अस्वीकार गर्न सकिँदैन।

जनताले चाहेको मैले पुरा गर्न सकिन भन्ने केही अनुभव गर्नुभएको छ ? जुन विकास गर्नुपर्ने हो त्यो पुरा नगर्दा एकदम छटपटी हुन्छ। म मेयर र नेतासँग मिल्न धाइरहेको छु। यो काम यसरी गरौँ भनेर म आफै पुगेको छु। शिक्षा, स्वास्थ्य क्षेत्रमा म आफै पुगेको छु। शिक्षामा प्रमाणपत्र मात्र बनाउन लाग्यौँ, बाहिर पठाउन मात्र लागि पर्यो। स्वास्थ्यमा पनि त्यही विराटनगर पठाउने मात्र .भएको छ। खाने पानीको पनि विकास भएको छैन। त्यसले धेरै छटपटी भएको छ।

अहिलेको संसदमा तपाईंहरु जस्ता पुरानै अनुहार र नयाँ नेताको तालमेल कसरी होला ? अहिले सम्पन्न भएको चुनावमा नयाँ युवा नयाँ दलहरू आएका छन्। नयाँ पुस्ता संसदमा प्रवेश गरिसकेपछि हामीले पुरानो ढाँचामा काम गर्नु हुँदैन। पुरानो र नयाँ ढाँचाले सांसद चलाउनु पर्दछ। पुरानाको अनुहारको अनुभव र नयाँको जोश एवम् केही गर्ने हुटहुटीलाई मिलाएर अगाडि बढ्नुपर्छ।

तपाईं पहिलो संसद् हुँदाको अनुभव कस्तो थियो ? पहिला जाँदा जोस जाँगर र ऊर्जा हुन्छ। पहिला मलाई राम्रो रमाइलो लाग्यो र खुसी पनि भएँ। आफूले आवाज उठाउन पनि पाएँ। समय र परिस्थितिको आवाज उठाउन पनि पाउँथेँ। पछि आएर हरेक कुराको समय तोकिएको हुन्छ। समयमा मात्र बोल्नु पर्ने हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ।

दलमाथि विभिन्न आरोप लाग्ने गरेका छन्। एउटा सांसदलाई विवेक प्रयोग गर्न बन्देज लगाउने वा बन्धक बन्नुपर्ने अवस्था छ कि छैन हाम्रो राजनीतिमा ? राजनीतिमा बन्धक लगाउने एउटा संसद् भनेको एउटा आफ्नो विवेक प्रयोग गर्ने संस्थाको दृष्टिकोणले चिनिन्छ। त्यो एउटा सकारात्मक पक्ष पनि हो। त्यो समयमा पार्टी र व्यक्तिको भूमिका फरक हुनसक्छ। त्यति बेला पार्टी भित्र पनि असमझदारी सिर्जना हुनसक्छ।

एउटा सांसदले निर्वाह गर्नुपर्ने दायित्व के हो ? एउटा सांसदले जुन उद्देश्यले जाँदै हुनुहुन्छ त्यो त गर्नु नै पर्दछ। त्यो नगरेर बाहिर हिँडेर हाजिरी मात्र गरेर हुँदैन। जनताले नीति निर्माण भन्दा पनि विकास हेरेको हुन्छ र त्यसको लागि हामी बाध्य भएर मन्त्रालयमा जानु पर्दछ।

प्रतिनिधि सभाको एउटा सांसद कति शक्तिशाली हुन्छ ? शक्तिशाली हुनुपर्ने हो तर अधिकार नै दिइएको छैन। प्रदेशका र केन्द्रको मान्य भन्दा पनि स्थानीय तहको प्रमुख अझ शक्तिशाली हुन्छन्। ऊसँग गाडी पैसा सबै छ। इज्जतको कुरामा चाहिँ सांसद मान्य हो। कानुन बनाउने हो। सांसद शक्तिशाली हुँदैन यो एउटा सम्मानित पद मात्र हो।

राजनीति सेवामुखी भन्दा पनि लाभमुखी भयो भन्ने आरोप छ। पहिला त टिकट पाउन नै गाह्रो र त्यसपछि अर्कोसँग कुस्ती खेल्नु पर्या, त्यस्तो सांसदबाट हामीले के आशा गर्ने ? अहिलेको चुनाव निकै खर्चिलो भएको छ। त्यसले गर्दा राजनीति लाभमुखी भएको कुरालाई अस्वीकार गर्न सकिँदैन। हामी राजनीतिमा लागेर गर्ने भनेको सेवा नै हो। मेरो कार्यकालको उद्देश्य भनेको नै जनतालाई सेवा गर्ने र सुख दुःखमा साथ दिनु हो। यसका अतिरिक्त शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबैको पहुँच विस्तार गर्नु पनि हाम्रो कर्तव्य हो।

अहिलेको चुनावमा भएको गठबन्धनले कांग्रेसलाई मात्र लाभ भयो भनिन्छ। के यथार्थ त्यस्तै हो ? गठबन्धन सबैको लागि राम्रो हो। तर जति हुनुपर्ने हो त्यत्ति भएन। गठबन्धन बनेको हाम्रो पार्टीको लागि मात्र होइन। यो देशको लागि भएको हो। आगामी चुनावमा गठबन्धन नगरी जाँदा पनि हुन्छ। अहिलेको सन्दर्भमा विचलन आयो। कतिपय साथीको मनमा गठबन्धनमा किन मत हाल्ने भन्ने परेको देखियो। यसले गठबन्धनभित्र केही शंका र उपशंका पनि सिर्जना भएका छन्। तराईंमा गठबन्धन प्रभावकारी नभए पनि पहाडमा गठबन्धन गरेर सत्ता पक्षका दललाई फाइदा नै भएको छ।

अबको सरकार कसको नेतृत्वमा बनाउने ? सबै भन्दा ठूलो पार्टीको नाताले नेपाली कांग्रेसको नेतृत्वमा नै बन्नु पर्ने हो। त्यसमा हामी गठबन्धनका सबै दल मिलेर कांग्रेसकोे नेतृत्वमा सरकार बनोस् भन्ने निर्णयमा पुग्नुपर्छ।

चुनावी गठबन्धनमा सहकार्य गरेको माओवादीलाई छाडेर एमालेसँग सहकार्य गर्ने तयार भइरहेको हो ? यो विषयमा छलफल आजदेखि नै सुरु भएको छ। पहिला त गठबन्धन भित्र नै सबैका कुरा सुनेपछि मात्र पार्टीले निर्णय गर्छ। वर्तमान गठबन्धनमा बेमेल नहुँदासम्म विकल्प खोज्नु हुँदैन।

यही गठबन्धनको सरकार बने तपाईं मन्त्री पक्का होइन त ? मलाई पार्टीले भरोसा र विश्वास गरेको छ। यसरी विश्वास गरेको आधारमा मन्त्री पदमा मेरो नाम आउनु स्वभाविक हुन्छ। यसरी नाम आएमा राम्रो मन्त्रालयमै मेरो दाबी हुन्छ।

एभिन्युज टेलिभिजनसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति