क्रिकेट

नामिबियासँग नेपाल ८६ रनले पराजित

By खबरहब

December 07, 2022

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तगत नामिबियमा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४, दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए । नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो । नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले । कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।

नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे । यस सिरिजमा नेपालको अन्तिम खेल बिहिबार स्कटल्याण्ड विरुद्ध रहेको छ ।