समाचार

पाँच टन केराउ बरामद

By खबरहब

February 08, 2022

कपिलवस्तु–कपिलवस्तुको सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।

यस्तै ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको यू.पी. ५५ टी २२९५ ट्रकमा चेकजाँच गर्ने क्रममा ५ हजार किलो अवैध केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । बरामद गरिएको केराउसहितको ट्रकलाई भने भन्सार कार्यालय सुठौली पठाइने तयारी गरिएको छ ।