फाइल फोटो

राजनीति

भोलिलाई बोलाइएको संसद बैठक स्थगित

By खबरहब

February 08, 2022

काठमाडौँ– प्रतिनिधिसभाको भोलि (बुधबार)लाई बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।

संसद सचिवालय विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।

आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

भोलि दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत तय भएको थियो ।

एमसीसी टेबुल गर्नको लागि सरकारले भोलि कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो । सरकारले एमसीसी अगाडि बढाउन खोजेपनि सभामुख सापकोटाले संसदको अवरोध हट्ने पर्ने र एमसीसीबारे दलहरुबीच सहमति हुनुपर्ने शर्त बनाउँदै आएका थिए ।

माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय कमिटीबाट निर्णय लिने भन्दै केन्द्रीय कमिटीको बैठकसम्म समय दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग समय माग गरेको थियो । माओवादी केन्द्रीय कमिटी बैठक माघ २८ गते बस्दैछ ।

प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पास गर्ने रणनीति बनाएपछि सत्ता गठबन्धनमा संकट उत्पन्न भएको छ ।