तस्वीर- न्यूज अजरबैजान

अन्तर्राष्ट्रिय

रुसद्वारा ४८ असहिष्णु देशहरुको सूची सार्वजनिक, को को परे ?

By खबरहब

March 08, 2022

काठमाडौं- रुसले ४८ देशहरुलाई समेटेर असहिष्णु राष्ट्रको सूची सार्वजनिक गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि आफ्नो मुलुकमाथि नाकाबन्दी र प्रतिबन्धहरुको घोषणा गर्ने ४८ देशहरुलाई समेटेर रुसले सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा युरोपेली युनियन र नेटोका सबै देशहरुका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशहरु पनि समेटिएका छन् ।

आइन्दा सूचीमा समावेश देशहरुका कम्पनीले घरजग्गा किनबेच, वित्तीय कारोबार र रुसी मुद्रा रुबलमा हुने कारोबारका लागि रुस सरकारबाट ‘विशेष अख्तियारी’ लिनुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध युरोपेली युनियन इयूसहित विभिन्न मुलुकहरुले आर्थिक प्रतिबन्ध एवम् नाकाबन्दीको घोषणा गरेका छन् ।

रुसी सञ्चारमाध्यमले यिनै नाकाबन्दी र प्रतिबन्धको जवाफमा यस्तो सूची सार्वजनिक गरेको दाबी गरेका छन् ।

सूचीमा समावेश देशहरु– अमेरिका, क्यानाडा, इयूका २७ मुलुकहरु, बेलायत, युक्रेन, मोन्टेनेग्रो, अष्ट्रेलिया उत्तर मेसेडोनिया, स्विट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अल्बानिया, एण्डोरा, आइसल्याण्ड, लिक्टेन्स्टाइन, मोनाको, नर्वे, सान मारिनो, माइक्रोनेशिया, न्युजिल्याण्ड, सिंगापुर र ताइवान