क्रिकेट

श्रीलंकामा जारी अभ्यास खेलमा नेपालको दोश्रो जित

By खबरहब

March 08, 2022

काठमाडौँ– श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ ।

नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक १ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले ४३.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै, सन्दीपले अविजित १४ रन थपेका थिए ।

३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए ।

यसअघि, पहिलो खेलमा नेपाल १ सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको नेभी १ सय ३ रनमा समेटिएको थियो ।

नेपालले मार्च १ तारिखसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ ।