सांकेतिक तस्बिर

अपराध

हत्याका आरोप १५ वर्षपछि बहराइनबाट समातिए

By खबरहब

March 08, 2022

काठमाडौँ– हत्याका आरोपी १५ वर्षपछि बहराइनबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरूङ छन् ।

कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्या घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

२०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका राईको उपचारका क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा

२०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई बहराइनमा पक्राउ गरिएको हो । गुरुङलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो ।

अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने प्रहरीले जनाएको छ ।