तस्वीर- युक्रेनी राष्ट्रपतिको कार्यालय/अनादोलू एजेन्सी

अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपतिको सन्देश– ‘म लुकेको छैन र कसैसँग डराउनेवाला पनि छैन’

By खबरहब

March 08, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् ।

युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए ।

‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु । बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन । हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु ।’ उनले जारी गरेको भिडियो सन्देशमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आफ्नो मुलुकमाथि आक्रमण गरेयता जेलेन्स्कीले आफू रुसी फौजको प्रमुख निशाना रहेको बताउँदै आएका छन् ।

गत साता युक्रेनी अधिकारीहरुले जेलेन्स्कीविरुद्ध भएको हत्या प्रयास असफल पारिएको जनाएका थिए ।

यद्यपि त्यसयता उनको ज्यानविरुद्ध रुसी षड्यन्त्रहरु अझै जारी रहेको युक्रेनी सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।