प्रतिकात्मक तस्वीर

खेलकुद

थ्रीस्टारलाई हराउँदै सकंटा सेमिफाइनलमा प्रवेश

By खबरहब

March 08, 2022

झापा- काठमाडौंको सकंटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सकंटाले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की घोषित भएका छन् ।

उनले नगद रु नौ हजार ९९९ पाएका छन् । खेलपछि भएको पोस्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक रवीन्द्र शिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।

विजयी टोली सकंटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताउँदै सङ्कटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको जानकारी दिए ।

 सकंटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफमा १–० को अग्रता बनाएको सङ्कटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

आयोजकले आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथि महिलामात्र थिए ।