समाचार

कार्यसम्पादनमा दाङका पालिकामध्ये राप्ती उत्कृष्ट

By खबरहब

March 08, 2022

दाङ– दाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिए ।

शान्तिनगर दोस्रो स्थानमा रहेको छ । शान्तिनगर गाउँपालिकाले ७० दशमलव ३० अकं प्राप्त गरेको छ ।

त्यसैगरी, बंगलाचुली गाउँपालिकाले ५४ दशमलव ३९, घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८, तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१, बबई गाउँपालिकाले ५८ दशमलव ९८, दगीशरण गाउँपालिकाले ५९ दशमलव ३२, गढवा गाउँपालिकाले ४७ दशमलव ९८ र राजपुर गाउँपालिकाले ४५ दशलमलव ५१ अंक पाएका छन् ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७९÷८० का लागि स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम दिइन्छ ।