प्रवास

साउदीमा अलपत्र ४८ नेपालीद्वारा उद्धारको अपिल, तीन महिनादेखि न काम न दाम  

By योगेन्द्र योगी

April 08, 2022

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू गत जनवरी १७ तारिखमा त्यहाँ पुगेका थिए ।

काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका हुन् ।

म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले काम नदिएर तीन महिनादेखि अलपत्र पारेको पीडित मध्यका एक रौतहटका हिरालाल स्याङ्तान गुनासो पोखे।

म्यानपावरले नेपालबाट पठाउदा होटलमा सरसफाई, कुक, अफिस ब्याई लगायतको काममा पठाएको भए पनि तीन महिना हुँदासम्म पनि सम्झौता गरे अनुसारको काम र तलब पाउन नसक्दा कोठामै बस्न बाध्य भएको स्याङ्तानले बताए ।

धेरै समय काम नलगाई एउटा लेबर क्याम्पमा कोचेर राखेको र खानाको लागि पनि हरेक १५-२० दिनमा एक सय साउदी रियाल मात्र दिने गरेको र त्यतिमै आफूहरूले मोबाइलमा रिचार्ज पनि गर्नुपर्ने भएकाले खाना खानै समस्या भएको उनले बताए ।

‘हामी यहाँ आएको तीन महिना भन्दाबढी भइसक्यो न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजदर ऋण काढेर आएका हौ,हाम्रो पनि नेपालमा परिवार छन्, अहिले दिएको पैसाले खानै पुग्दैन ,’ स्याङ्तानले खबरहबसँग भने, ‘ नेपालमा परिवारलाई के पठाउने? यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ नबस्ने निर्णयमा पुगेका छौँ, हामीलाई चाँडो उद्धार गर्नुहोस् ।’

नेपालबाट म्यानपावरले एक हजार प्लस दुई साउदी रियाल तलब हुने सम्झौता गराएको पीडितहरूले बताए । आफूहरू मध्य ८ जनालाई कम्पनी करिब पचास दिन काममा लगाएर ७ सय तलब दिएको र अहिले कोठामै बसेको भन्दै पीडितहरूले तत्काल उद्धार गर्न माग गरेका छन् ।

आफूलाई पठाउने नासा ह्युमन रिसोर्सका सञ्चालक युबराज गुरुङ र साउदीमै रहेका अर्का एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले आज/भोलिमा काम दिलाउछौ भन्दै टार्ने गरेको पीडितहरूले बताएका छन् ।

गाडी भाडाको लागि साथीभाईहरुसँग सापटी पैसा लिएर रियादस्थित नेपाली दूतावासमै उपस्थित भई समस्या सुनाए पनि दुई वर्ष बस्नुपर्छ त्यसअघि एक्जिट भिसा लगाउन सक्दैनौ भन्ने गैरजिम्मेवार जवाफ दिएको पीडितहरूले बताए ।

‘हामीलाई पठाउने म्यानपावर दुई भए पनि हामी नासा ह्युमन रिसोर्सबाटै छाप लगाएर आएका हौँ, न अहिलेसम्म हामीलाई काम नै दियो न त तलब नै,’ अर्का सुर्खेत लेकबेशी घर भएका रत्न बहादुर अधिकारीले थपे, ‘साउदीमै रहेका एजुकेटिभ डाइरेक्टर भण्डारीले पनि पटक-पटक काम दिलाई दिन्छु भन्दै झुक्याउने गरिरहेको छ ।’

पछिल्लो केहि दिनदेखि भण्डारी पनि सम्पर्कविहीन छन् । केही कुरा गर्न खोजे पनि कुट्ने र धम्क्याउने गरेको पीडितहरूले बताएका छन् । काठमाडौँस्थित वैदेशिक रोजगार विभागमा पनि उद्धारको निवेदन दिएको तर सुनवाइ नभएको पीडितहरूको भनाइ छ ।

उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

काममा गए समस्या समाधान हुन्छ : डाइरेक्टर भण्डारी 

साउदीमा रहेका नासा ह्युमन रिसोर्स प्रालिका एजुकेटिभ डाइरेक्टर रमेश भण्डारीले यसअघि कम्पनीमा केही समस्या भएकाले समयमा काम दिलाउन नसके पनि अहिले काममा जानु भन्दा पनि उनीहरुले अटेरी गरेर बसिरहेको बताए ।

‘यो केस अहिले नेपाली दूतावास र वैदेशिक रोजगारी विभागमा छ, समस्या समाधान गर्नलाई समन्वय भइरहेको छ ,’ उनले भने, ‘दूतावासबाट पनि कम्पनीमा डेलिकेशन गएर यो इशुको लागि पहल भइरहेको र बुधबारदेखि उनीहरू काममा जानुपर्ने हो तर गएका छैनन्।’

उनीहरूलाई कम्पनीले छ महिनाको अकामालगायत एटिएम कार्ड सबै बनाई दिएको छ। उनकाअनुसार दूतावाससँगको छलफलमा कम्पनीले सबै जना काममा लागेपछि विगत तीन महिनादेखिकै तलब दिने प्रतिबद्धता जनाएको छ।

खानाको लागि दिएको पैसा मोबाइलमा रिचार्ज गर्ने गरेकाले खाना खाने पैसा नपुगेको हुनसक्ने उनले बताए । काममा नगएर कोठामै बसिरहे कम्पनीले कसरी तलब दिने? उनले प्रश्न गर्दै भने काममा लाग्ने बित्तिकै सबै समस्या समाधान हुन्छ ।