तस्वीर- बीबीसी/दिमित्री मुरातोभ

अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कार विजेता रुसी सम्पादकमाथि रातो रङ्ग छ्यापियो

By खबरहब

April 08, 2022

काठमाडौं– रुसमा नोबेल शान्ति पुरस्कार विजेता सम्पादकलाई लक्षित गरी रातो रङ्ग प्रहार गरिएको छ ।

रुसी प्रशासन क्रेमलिनको आलोचक रुसी उदारवादी पत्रिका नोभाया गजेटाका सम्पादक एवम् अघिल्लो वर्ष नोबेल शान्ति पुरस्कार जितेका दिमित्री मुरातोभलाई लक्षित गरी रातो रङ्ग छ्यापिएको हो ।

उनीमाथि छ्यापिएको रङ्गमा एसिटोन नामक प्रज्वलनशील पदार्थ समेत मिसाइएको बीबीसीले जनाएको छ ।

राजधानी मस्को र सामरा शहरबीचको रेलमार्गमा घटना भएको हो । ‘मेरो आँखा बेस्सरी पोलिरहेको छ ।’ मुरातोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमण गर्ने क्रममा एकजना पुरुष आक्रमणकारीले ‘मुरातोभ, यो हाम्रा केटाहरूको तर्फबाट’ भनेर चिच्याएको सम्पादकले जनाएका छन् ।

रङ्ग आक्रमणपछिका तस्वीरहरू उक्त अखबारले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजानिक गरेको छ । गत महिनामात्र उक्त अखबारले छापा र अनलाइन गतिविधि ‘युक्रेनमा रुसी विशेष सैनिक कारवाही नसकिँदासम्म’ बन्द गरिने जनाएको थियो ।

रुसी मिडिया नियामक रोस्कोम्नाद्जोरले युक्रेनमा जारी रुसी सैनिक गतिविधिलाई ‘युद्ध’ वा ‘आक्रमण’ भनी पुकार्न प्रतिबन्ध लगाइएका कारण त्यहाँका मिडियाहरूले यसलाई ‘विशेष सैनिक कारवाही’ भन्दै आएका छन् ।