राजनीति

संसदीय निर्वाचनमा ३ सिट जितेर देखाउन माधवलाई ओलीको चुनौती

By खबरहब

April 08, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैँमाथि प्रहार गरेको उनको आरोप छ ।काठमाडौँमा शुक्रबार पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै ओलीले माधव नेपाललाई हुत्ती नभएको भन्दै आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको बताए ।

जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारीमा लाग्न पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई ओलीले निर्देशन पनि दिए ।अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए ।