समाचार

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे

By खबरहब

April 08, 2022

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए ।

वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट विजयी भएका हुन् । घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका छन् ।

घिमिरेले ४४७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । त्यस्तै, महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन् ।

उनका निकटतम् प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।

बारको चैत १९ गते काठमाडौँसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।