काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन ।
घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन ।
नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म ‘फास्ट एण्ड लुज’ रोकेको केही समयमा अर्को फिल्म ‘ब्राइट’ को सिक्वेल नबनाउने खबर केही समय अगाडि आएको थियो । नेटफ्लिक्सले अन्य कारण देखाउँदै ओस्कारको घटनासँग फिल्म रोकिनु सम्बन्धित नभएको बताएको थियो । यद्यपि ओस्कारको थप्पड प्रकरणले चर्को रूप लिँदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको खबरहरू आइरहे ।
पुनः विल स्मिथको अभिनय रहेको फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेको खबर अन्तराष्ट्रिय मिडियामा छन् । निर्माण पक्षले यो फिल्मलाई सन् २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपि यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।
ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्यपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेको प्रकरण अहिले चर्चामा छ । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेका थिए ।
त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गएर क्रिसलाई जोडले थप्पड हाने ।