तस्वीर- खामाप्रेस

अन्तर्राष्ट्रिय

इरानद्वारा तालिबानले नियुक्त गरेका अफगान कूटनीतिज्ञको ओहदा स्वीकार

By खबरहब

May 08, 2022

काठमाडौं– इरानले तालिबानद्वारा नियुक्त अफगानिस्तानका तीन कूटनीतिज्ञको ओहदा स्वीकार गरेको छ । बीबीसी पश्तोले जनाएअनुसार इरानले राजधानी तेहरानमा रहेको दूतावासमा तालिबानले पठाएका कूटनीतिज्ञहरूको ओहदा स्वीकार गरेको हो ।

तालिबानले इरान पठाएका दूतावासका कूटनीतिज्ञमा एकजना तेश्रो तहका सचिव रहेको र अन्य दुई जना सामान्य कर्मचारी रहेको जनाइएको छ ।

पूर्ववर्ती सरकार पतन भएर हाल अफगानिस्तानमा तालिबानले शासन चलाइरहेपनि तेहरानस्थित अफगान दूतावास भने बन्द नभएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ ।

विश्वका अरु मुलुकहरूजस्तै इरानले पनि हालसम्म अफगानिस्तानमा तालिबानको सरकारलाई मान्यता दिएको छैन ।

यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादाले जनाएअनुसार अन्तर्राष्ट्रिय अभिसन्धिलाई ध्यानमा राखेर कूटनीतिज्ञको ओहदा स्वीकार गरिएको हो ।

कूटनीतिज्ञको ओहदा स्वीकार गर्दैमा इरानले तालिबान सरकारलाई मान्यता दिएको अर्थ नलाग्ने उनको भनाइ छ । यसअघि रुस, चीन, पाकिस्तान, टर्की र तुर्कमेनिस्तानले तालिबानद्वारा नियुक्त कूटनीतिज्ञको ओहदा स्वीकार गरेका थिए ।