काठमाडौँ– सन् २०१२ पश्चात बलिउड अभिनेता अक्षय कुमार समय ठीकठाक भयो । राउडी राठोर, ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरु खिलाडी ७८६, स्पेसल २६, बोस, बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्यपि कोरोना भाइरसको महामारी पश्चात उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ ।
अतरंगी रेलाई समीक्षकले केही राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाईरहेको छ । लक्ष्मी बम्ब, बच्चन पाण्डे, बेल बटम झैँ उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ पनि असफल रह्यो । अक्षयलाई लिएर फिल्म बनाउँदा फाइदा हुनेछ भन्ने निर्माताहरूको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ ।
यस अगाडिको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यसपटक बहाना पाएका छैनन् । दुई सय करोडको हाराहारीमा बनेको फिल्म ‘सम्राट पृथ्वीराज’ को कलेक्सन एक सय करोड पुग्नेमा समेत ट्रेड एनालिस्टहरु विश्वस्त छैनन् ।