प्रतिकात्मक तस्वीर- पिक्सल

अन्तर्राष्ट्रिय

हत्यारा साँढे हिरासतमा, यसअघि भेँडालाइ भएको थियो जेल सजाय

By खबरहब

June 08, 2022

काठमाडौँ- एउटा अनौठो घटनामा अफ्रिकी मुलुक दक्षिण सुडानमा १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ ।

बेलायती अखबार इन्डिपेन्डेन्टको अनलाइन संस्करणले जनाएअनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरका अनुसार साँढेलाई अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीको हिरासतमा राखिएको छ ।

किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ । सोही राज्यमा भेँडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो ।

भेँडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेँडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छ । तर, अपराध गर्ने भेँडा पक्राउका लागि योग्य छ ।’ यस भेडालाई हत्याको अभियोगमा दोषि ठहर गर्दै तीन वर्ष सैनिक शिविरमा कारावास सजाय सुनाइएको थियो ।