अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

June 08, 2022

आज जेठ २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इरानमा रेल दुर्घटना हुँदा १७ जनाको मृत्यु

इरानमा भएको रेल दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । मध्य इरानमा बुधबार मशहद र याजद सहरबीचको रहेको ताबासनजिकै रेल ट्रयाकबाट खस्दा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । घटनामा अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिएका छन् ।

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताए । बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्रयाकबाट बाहिरिएका आपतकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।

मारिउपोलमा पक्राउ परेका १ हजार युक्रेनी सैनिकलाई रुस सारियो

युक्रेनको मारिउपोल सहरमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रुस सारिएको छ । रुसी समाचार संस्था इतरतासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिको ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् । यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बिरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ । यसैबीच, नर्वेले युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता उपलब्ध गराएको छ । नर्वेको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनलाई थप २२ आधुनिक तोपखाना प्रणाली, पार्टपुर्जा, गोलावारुद र अन्य उपकरण पनि उपलब्ध गराएको जनाएको छ ।

‘सुरक्षाको कारण नर्वेजियन सरकारले केही समय पर्खेर यो अनुदानको सार्वजनिक घोषणा गरेको हो ।’ नर्वेजियन रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनलाई दिइने आगामी सहायताबारे टिप्पणी वा सार्वजनिक घोषणा नगर्ने समेत रक्षा मन्त्रालयले संकेत गरेको जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग भारी हतियारको माग गर्दै आएको छ । रुसी आक्रमणको सुरुवाती समयमा युक्रेनलाई भारी एवम् आक्रामक हतियार उपलब्ध गराउन आनाकानी गरिरहेको अन्तर्राष्ट्रिय समुदायले पछिल्लो समय भने तोपखाना, चालहरहित हवाइ उपकरण (ड्रोन) जस्ता सैन्य सहायता उपलब्ध गराउन थालेका छन् । केही समयअघिमात्रै अमेरिकाले युक्रेनलाई अत्याधुनिक हवित्जर एम ७७७ तोपखाना प्रणाली सहयोग गरेको थियो । विशेष मार्गनिर्देशक यन्त्र जडित हजित्वर ७७७ तोपखाना प्रणालीको गोलाबारुदले गतिशील निशानामा पनि सटिक प्रहार गर्नसक्ने बताइन्छ ।

ऊर्जामन्त्री र अर्थमन्त्रीसहित रुसद्वारा ६१ अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध घोषणा

रूसले अमेरिकी ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१ अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

रूसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । विदेश मन्त्रालयले अग्रणी सैन्य–औद्योगिक निगमहरू, रेटिङ एजेन्सी, विमान र जहाज निर्माण कम्पनीका प्रमुखलगायत अमेरिकी नागरिकलाई प्रतिबन्धको सूचीमा समावेश गरेको जनाइएको छ ।

साथै रूसी साइबर हमला बारे दुर्भावनापूर्ण झुटा समाचार फैलाउनमा संलग्न अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई पनि सूचीमा संलग्न गरिको रुसी विदेश मन्त्रालयले जनाएको छ । बुचालगायत युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भनिएको युद्ध अपराधको विरोधमा अमेरिकासहित औद्योगिक राष्ट्रहरूको समूह (जी सेभेन) र युरोपेली सङ्घ (ईयू) ले रुसमाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाएको छ ।

युक्रेनमा गरेको कारबाहीमा रूसलाई जवाफदेही बनाउनका लागि अमेरिकाले मस्कोमाथि नयाँ लगानी प्रतिबन्धको पनि घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धमा रूसको सबैभन्दा ठूलो सरकारी र निजी बैंक, वित्तीय संस्था, राज्य–स्वामित्वका उद्यम र सरकारी अधिकारी तिनका परिवारका सदस्यलगायत परेका छन् । अमेरिकामा रूसीहरूको सम्पत्ति रोक्का र आर्थिक कारोबार पनि बन्द गरिएको छ ।

अल कायदाद्वारा भारतमा आक्रमणको धम्की

आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो । यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय उपमहाद्वीपमा अल कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको जनाइएको छ ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको’ अल कायदाले जनाएको छ ।

१० दिनअघि भारतको एउटा  समाचार च्यानलमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको बताइएको छ । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नवीन कुमार जिन्दलले पनि पैगम्बरबारे विवादास्पद ट्वीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निकालिएको छ ।

सरकारले आफूलाई जेल हाल्न खोजेको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् । ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने । वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ’नक्कली’ फर्स्ट इन्फरमेसन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उनले आग्रह गरे ।

निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उनले समर्थकहरूलाई अनुरोध गरेका थिए । प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसङ्ग कोट्याउँदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाए ।

भारतमा ५ हजार २३३ नयाँ कोरोना सङ्क्रमित थपिए

भारतमा २४ घण्टाको समयावधिमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसअघिको २४ घण्टामा भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेब्रुअरी १८ यताकै उच्च हो ।

सोमबार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले वृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको शून्य दशमलब शून्य ७ प्रतिशत भएको जनाइएको छ । सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधिमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७२ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।

उर्जा संकट बढेको भन्दै पाकिस्तानमा दुई दिन साप्ताहिक बिदा दिने तयारी

उर्जा संकट बढेको भन्दै पाकिस्तान सरकारले सातामा दुई दिन बिदा दिने योजनालाई पुनर्स्थापित गरेको छ । भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएअनुसार खर्च कटौतीको प्रयासस्वरूप पाकिस्तान सरकारले सातामा दुई दिन बिदा दिने योजना अघि ल्याएको हो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले गत अप्रिल १६ मा सार्वजनिक क्षेत्रका कार्यालयहरु शनिबार पनि खुला राख्न र साप्ताहिक बिदालाई आइतबार मात्र कायम राख्न निर्देशन दिएका थिए ।

यद्यपि उनको घोषणाको चौतर्फी आलोचना भएको बताइएको छ । यस घोषणाबाट क्रुद्ध बनेका सार्वजनिक क्षेत्रका कर्मचारीहरुले प्रदर्शनको आयोजना समेत गरेका थिए । ‘शनिबारको बिदा पुनर्स्थापित गरिएको छ । यो निकै चुनौतिपूर्ण समय हो र संकट नियन्त्रण गर्नका लागि यसो गर्न लागिएको हो ।’ पाकिस्तानी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकपछि सूचनामन्त्री मरियम औरङजेबले भनिन् ।

सरकारले यसबाहेक सरकारी अधिकारीलाई दिइने पेट्रोलको कोटामा ४० प्रतिशतले कटौती गर्ने निर्णय समेत गरेको छ ।

विश्व बैंकले युक्रेनलाई थप १ दशमलब ५ अर्ब डलर सहयोग गर्ने

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलव ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ । २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरू ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध  भइरहेको छ ।

नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ । ‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निरन्तर सहयोग गरेको छ ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भनेका छन् ।

विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान घटायो

युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ । “विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैंकले आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पुर्‍याएपछि यो गिरावट आएको हो । रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापीरूपमा बढाएको छ । “युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुने,” विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।

प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ, विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ । “यसले मुद्रास्फीतिको जोखिम बढाउँ छ र मध्यम र न्यून आय भएका अर्थतन्त्रहरूका लागि सम्भावित हानिकारक परिणामहरूको पनि सँगसँगै लैजाने छ ।

प्रतिवेदनले सन् १९७० को दशकमा केही समानताहरू उल्लेख गरेको छ । तर त्यो अवधिको विपरीत अमेरिकी डलर बलियो छ र प्रमुख वित्तीय संस्थाहरू ठोस स्थितिमा छन् । साथै बैंकले मूल्य नियन्त्रण वा निर्यात प्रतिबन्धको साथ मुद्रास्फीति स्पाइक समाधान गर्ने प्रयास नगर्न चेतावनी दिएको छ । मालपासले “उत्पादनलाई प्रोत्साहन दिन र व्यापार प्रतिबन्धबाट बच्न जरुरी” रहेको पनि टिप्पणी गरेका छन् ।

प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १.२ अङ्कले घटाएर २.५ प्रतिशतमा पुर्‍याएको छ र चीनको लागि पूर्वानुमान ०.८ अङ्कले घटाएर असाधारण रूपमा न्यून ४.३ प्रतिशतमा झरेको छ । यसैबीच युरो क्षेत्रको प्रक्षेपण २.५ प्रतिशत र जापान १.७ प्रतिशतमा घटाइएको छ । साथै रुसको अर्थतन्त्र यस वर्ष ११.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ ।